५ वर्षपछि रास्वपाको एकल सरकार बन्नबाट कसैले रोक्न सक्दैन : रवि लामिछाने

जनपत्र
२१ चैत्र २०७९, मंगलवार १२:३९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेले ५ वर्षभित्र आफ्नो पार्टीले एकल सरकार बनाउने दाबी गरेका छन् ।

चुनाव प्रचारका क्रममा लामिछानेले दिनदिनै रास्वपामा आकर्षण बढेको भन्दै ५ वर्षमा रास्वपाले एकल बहुमतको सरकार बनाउने दाबी गरे ।

‘भकुण्डोमा जति हावा हालिन्छ, त्यति माथि उफ्रन्छ । हामीलाई जति गिराउन खोजिन्छ, हामी त्यति माथि उठ्छौं । त्यसैले एकका विरुद्ध हामी ३ जना संसद्मा छिर्ने बाटोमा छौं,’ रविले भने, ‘६ महिनामा २० सिट जित्यौं । ५ वर्षमा दुईतिहाइ जित्न सक्छौं । ५ वर्षपछि रास्वपाको एकल सरकार बन्छ । कसैले चाहेर रोक्न सक्दैन ।’

मुद्दामामिला जे लागे पनि अब रास्वपाले भ्रष्टाचारविरुद्ध आगो बाल्ने पनि उनले बताए ।

‘यो देशलाई सुन्दर र समुन्नत बनाउने सपना देखेका छौं । नयाँ शक्ति आएर देश बनाउँछ कि हाम्रो बेथितिविरुद्ध बोल्छ कि भनेर डराएका छन् । अब यो रास्वपा व्यक्तिको पार्टी होइन, यो सबैको पार्टी हो,’ रविले भने, ‘कसैसँग गलत सम्झौता नगरी संसद, सडक र विपक्षीको अनुभव लिनुपर्नेछ । अरु राजनीतिमा लागेर सम्पत्ति कमाउँछन्, मैले बुवाबाजेको सम्पत्ति सकाइसकेको छु । विश्वको कुनै पनि कुनामा गएर आनन्द र सुखले बस्न सक्ने थिएँ तर ६ महिनाभित्र २० जना सांसद लिएर जाने पार्टी संसारमा विरलै हुन्छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*