प्रतिष्ठाको लडाइँ बन्दै उपनिर्वाचन
प्रतिनिधिसभाको तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनको तरंगले काठमाडौंलाई समेत तताएको छ ।
वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ, चितवन र बारामा सोमबार उम्मेदवारी मनोनयन भएको छ । राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइरहेको उपनिर्वाचनमा मुख्यगरी कांग्रेस, रास्वपा र जसपालाई अस्तित्व जोगाउने चुनौती छ ।
रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ–१ मा ९ जनाको उम्मेदवारी परेको छ, तर कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । भट्टराई नेविसंघका पूर्वअध्यक्ष हुन् । आफूभन्दा पछिका अध्यक्ष र महामन्त्री संसदीय फाँटमा आइसक्दा भट्टराईले भने पहिलोपल्ट अवसर पाउँदै छन् । पूर्वप्रहरी महानिरीक्षक खनाल मंसिर ४ को निर्वाचनमा काठमाडौं–६ बाट पराजित भएका थिए । गृहजिल्लासमेत भएकाले एमालेले उनलाई दोहोर्याएर उम्मेदवार बनाएको हो । पाँच दिनअघि कांग्रेस त्यागेका वाग्ले रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवाप्रति गम्भीर आरोप लगाउँदै कांग्रेस त्यागेका थिए ।
पार्टी गठनको छोटो समयमै आमनिर्वाचनमा होमिएर उल्लेख्य सिट जितेपछि रास्वपाले राष्ट्रिय राजनीतिमै हलचल पैदा गराएको थियो । यसबीच संसद् र सरकारमा समेत सहभागी भएको रास्वपाको जनाधार मापन गर्ने आधारका रूपमा चितवन–२ को निर्वाचनलाई हेरिएको छ । रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि चितवन–२ रिक्त भएको हो । कांग्रेस र एमालेले लामिछानेसँग यसअघि प्रतिस्पर्धा गरेका उम्मेदवारलाई टिकट नदिएर नयाँ अनुहारलाई अघि सारेका छन् । कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएका छन् । यसअघि कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा थिए ।
बारा–२ को निर्वाचनलाई समग्र मधेश राजनीतिको शक्तिसंघर्षको विषय बनाइएको छ । मधेशको राजनीतिमा मुख्य नेता को हुने भन्नेमा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच प्रतिस्पर्धा छ । चार महिनाअघि सप्तरी–२ मा राउतसँग चुनाव हारेका यादवको उम्मेदवारीलाई सत्ता गठबन्धनका मुख्य दलको समर्थन छ । सत्ता गठबनन्धनमै रहेका राउतले भने माओवादी नेता शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर यादवविरुद्ध उम्मेदवार बनाएका छन् ।
राजनीतिक विश्लेषक तुलानारायण साह बारा–२ मा एमाले, रास्वपाभन्दा पनि जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष राउतबीचमै रोचक प्रतिस्पर्धा हुने बताउँछन् ।
उनका अनुसार यादव ०६३ को मधेश आन्दोलनको विरासत बोकेका नेता हुन् । १६ वर्षदेखि संसदीय यात्रा गरेका यादव र ५ महिनाअघि मात्रै संसदीय राजनीतिमा प्रवेश गरेका राउतबीचको यो चुनावी प्रतिस्पर्धा समग्र मधेशको शक्तिसँग जोडिएको छ ।
‘जनमतका उम्मेदवार कुशवाहाले हार्दा सीकेजीका लागि ठूलो असर गर्दैन किनकि बारा–२ जनमतको लिगेसी भएको ठाउँ होइन तर उपेन्द्रजी हार्नुभयो भने राष्ट्रिय राजनीतिमा पुनःस्थापित हुन उहाँलाई कठिनाइ पर्न सक्छ,’ साह भन्छन्, ‘यस अर्थले बारा–२ को निर्वाचन राष्ट्रिय चासोको विषय बनेको हो । जसरी यहाँ उपेन्द्र र सीकेबीच शक्ति परीक्षण हुँदै छ, त्यसैगरी तनहुँमा स्वर्णिमले कति परिपक्व निर्णय लिएका हुन् भन्ने परीक्षा पनि हुँदै छ ।’
नयाँ राजनीतिक पार्टी स्थापना गरेको छोटो अवधिमै २० सिटसहित संसद्मा चौथो राष्ट्रिय पार्टी भएको रास्वपाका लागि चितवन–२ को निर्वाचन अर्थपूर्ण हुने साह बताउँछन् । उनी स्वतन्त्र पार्टी र अध्यक्ष लामिछानेका लागि नै यो अग्निपरीक्षा हो,’ उनले भने । तनहुँ र चितवनमा कांग्रेस उम्मेदवारलाई सत्ता गठबन्धन दलको समर्थन छ । तनहुँ–१ को निर्वाचन रास्वपाबाट स्वर्णिम वाग्लेको उम्मेदवारीका कारण बढी चर्चामा छ । कांग्रेसमा छँदा शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग नजिक रहेर काम गरेका वाग्लेले पार्टी छाडेको जानकारी ‘सरप्राइज’ ढंगले इमलेबाट दिएका थिए । पार्टीले अहिले महामन्त्री थापालाई तनहुँ–१ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा खटाएको छ ।
आफूप्रति गम्भीर आरोप लगाएकाले पनि देउवाले तनहुँ–१ को निर्वाचनलाई लिएर चासो बढाउन थालेका छन् । पूर्वमन्त्री गोविन्दराज जोशीसहितका नेताहरूको अनुशासनको कारबाही फुकुवाको निर्णय पनि उनले तनहुँको चुनावी रणनीतिलाई हेरेरै गरेको बुझाइ कांग्रेस नेताहरूमा छ । गत मंसिरको निर्वाचनमा तनहुँ–१ मा पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका जोशीले ६ हजारभन्दा बढी मत ल्याएका थिए । जोशीलाई केन्द्रीय सदस्य बनाएर भए पनि कांग्रेस उम्मेदवार भट्टराईको पक्षमा समर्थन जुटाउने प्रयासमा देउवा लागिरहेको कांग्रेस नेताहरू बताउँछन् । देउवाले चलाखी गरेरै तनहुँ–१ को निर्वाचन परिचालनको मुख्य जिम्मेवारी महामन्त्री थापालाई दिएका छन् । पार्टीमा छँदा सहकार्यमा रहेका वाग्लेले पूर्वजानकारी नदिई रास्वपाबाट उम्मेदवार बन्ने निर्णय लिएपछि थापा सबैभन्दा बढी दुःखी भएका थिए । उम्मेदवार मनोनयनपछि सोमबार तनहुँमा भएको कोणसभामा उनले स्वर्णिमको नाम नलिईकनै आक्रोशित भाषण गरेका थिए ।
राष्ट्रिय योजना आयोगमा दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भएका वाग्लेले गत निर्वाचनमै कांग्रेसबाट उम्मेदवार बन्न चाहेका थिए तर पार्टीले टिकट दिएन । टिकट नदिएपछि नेतृत्वको आलोचना भएको थियो । उनी एकाएक रास्वपा प्रवेश गरेपछि कांग्रेसमा हलचल पैदा भएको छ । ‘नेतृत्वको व्यवहारले कांग्रेसमा क्षमतावान् र बौद्धिक व्यक्तित्वले ठाउँ पाउँदैनन् भन्ने नकारात्मक सन्देश गएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘स्वर्णिमजीले लगाउनुभएको आरोप गम्भीर छ । नयाँ पुस्तालाई आशा जगाइराख्न पनि नेतृत्वले यस्ता आरोपलाई चिरेर अघि बढ्न सक्नुपर्छ ।’
माओवादीले दिएन उम्मेदवारी
प्रधानमन्त्री पुष्पकमल दाहालकै दल माओवादीले उपनिर्वाचनमा उम्मेदवारी दिएन । माओवादीले चितवन–२, तनहुँ–१ र बारा–२ मा गठबन्धनलाई सहयोग गर्ने भन्दै उम्मेदवारी नदिएको हो ।
माओवादी नेताले अहिलेको गठबन्धनलाई निरन्तरता दिन उपनिर्वाचनमा उम्मेदवारी नदिएको तर्क गरेका छन् । आफ्नो मतले परिणाम गठबन्धनको पक्षमा पार्ने उनीहरूको दाबी छ । ‘पहिला माओवादीको भागमा नपरेका क्षेत्र भए, अहिले पनि गठबन्धनले गर्दा उम्मेदवारी दिन पाइएन,’ महासचिव देव गुरुङले भने । तर, गत मंसिर ४ को चुनावमा बारा–२ मा माओवादीले उम्मेदवारी दिएको थियो । माओवादीले चितवन–२ र तनहुँ–१ मा कांग्रेस र बारा–२ मा जसपालाई समर्थन गर्ने निर्णय लिएको छ । तनहुँ–१ बाट कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा–२ मा जसपाका उपेन्द्र यादव गठबन्धनका साझा उम्मेदवार छन् ।





