मकवानपुरमा महिलाहरुको सहकारी संघर्ष र सफलता
अहिले सहकारी अभियानले ल्याएको सफलता देखेर असाध्य खुसी लागेको छ । टोल समुहबाट सुरुगरिएको हाम्रो अभियान समुह, सहकारीको नेतृत्व टोल,वडा, पालिक, जिल्ला हुदै प्रदेश र केन्द्रिय कमिटीसम्म पुग्न सफल भएको छ। यतीमात्र हैन मकवानपुर सहकारी नेतृत्वले देशको नयाँ संरचना अनुरुप संसदिय क्षेत्रमा पनी महिलाको अब्बल भुमिका निभाउने अवसर पाएको छ ।
यो खुसी संगै आज म हाम्रो अभियानको विगतका कुरा स्मरण गर्दै स्तब्ध भएको छु । जति बेला हामी संचार माध्यमबाट धेरै टाढा थियौं । अहिले जस्तो हात हातै मोवाईल हुने कुरै भएनविकट गाउँमा टेलिफोन सेवा पनि थिएन । तीन महिना अगाडि नै तोकिएको त्रैमाशिक बैठकको मितीसम्झेर त्यो अनुसार घरका काम एको(याउँदै बैठकमा जाने तयारी गर्थ्यौं।
टिष्टुङ, मार्खु, फाखेल, सिस्नेरी, ईपा, कोगटे, बुद्विचौर,ठिगन,सुकौरा,जस्ता विकट गाउँदेखी ६–७ घण्टाकोबाटो कतै जे पाउँछ त्यही साधन चढिन्थ्यो धेरै ठाउँमा यातायातको सुविधा थिएन हिड्दै दिदी बहिनी दुधेबच्चा च्यापेर हेटौडा झरिन्थ्यो ।
एक पटकको कुरो हो यस्तै भदौ महिनाको झिम् झिमे झरीमा हामी यी दुर्गम गाउँ देखि काखमा दुधेबच्चा च्यापेर हेटौंडा आईपुग्यौं बैठक बस्ने कुनै छुटै व्यवस्था र अवस्था थिएन । प्लान नेपालकै अफिसको एउटा कुनामा बसिन्थ्यो । त्यो दिन प्लान अफिसको गेटमै बढे ताला ठोकेर सबै सरहरुविदामा घर जानू भएछ । हामीलाई के थाहा उहाँहरुले पनि खबर छोड्ने माध्याम थिएन ।
ढोकामा तालाठोकेको देखेपछि हामी रुल्ल टुल्ल परेर सडकको पेटीमै भएपनी विना माईनेट छलफल गरेर विदा हुने जमर्को गर्दै थियौं । हामीलाई शहरका साउजिहरुले याँ हैन उता जानू उता भन्दै सडकको पेटीमा पनि बस्नैदिएनन् । गाउँमा त साँगुरो पिंढी, आगनमै बैठक चलाईन्थ्यो सबैको माया र सद्भाव पाईन्थ्यो त्यहीसम्झेर भिजेका लुगाले छहारी खोज्दै सडकको पेटिमै गुजुमुज्ज हुँदै थियौं । अन्य कतै खुला ठाउँमा जानदेखेका पनी थियनौ । आउने साथीहरुला कुर्दै भएकाले गुनासो गर्दै भोको पेट खाउँ भन्ने कोही हाम्राथिएनन् होटलमा पसेर खान सक्ने अवस्था हाम्रो थिएन ।
हामी त्यत्तिकै भिजेका लुगा ज्यानमै सुकाएर बच्चा रुवाँउदै आ–आफ्नो घर फर्क्यौ । खै थाहा भएन त्यति टाढाबाट पैदल हिड्दै आउने दिदी बहिनीहरुले के खानु भयो ? कहाँ बस्नु भयो ? कुनबेला कसरी घर पुग्नु भयो ? कत्तिले फर्कदा त गाडीभाडा उतै दिन्छ भनेर एकोहोरो मात्र मागेर ल्याउनु भाथ्यो होला कसैलाई केही सोध्नै सकिनौ हामी उसै भक्कानियर फर्कियौं ।
हामीलाई अझै कठिन अर्को थियो सहकारीमा बस्न नागरिता चाहिन्थ्यो नागरिता भएका दिदी बहिनीहरु फाट्ट फुट्ट भेटिन्थे अब सबैलाई नागरिता बनाउन विकट गाउँदेखी हेटौडा ल्याएर फर्काउँदा तीन चार दिनलाग्थ्यो । होटलमा खुवाएर लजमा सुताउँनु पर्थ्यो । बालबच्चा बोकेर आएका गाउँले महिलालाई हेटौडा बजार भरी घुम्दा न खुवाउन होटल खुसी हुन्थे न सुताउनलाई लजहरुनै पाईथ्यो । एकदिनको कुरो हो हेटौंडाको एउटा चर्चित होटलमा टोलीलाई खाना खुवाउन अडर गरेका थियौं। खाना खुवाएर हामी जिल्ला प्रशासन जाने हतारमा आमाहरु बच्चा काखिच्यापेर खाना खुवाँउदै खादै थिए । कार्यालय समय भैसकेकोले होटलमा सुकिला, मुकिकला मान्छेहरु पस्नथाले । होटलवालाले दिदी बैनीलाईबच्चाले सब फोहर गर्यो ।
बाहिर जानु बहिर भनेर हप्काउन थाल्यो । त्यो दिन म आफैं थिएँ । खादै गरेको खाना सक्न दिनु न नलखेट्नु भनेर अनुरोध गरें । झन उफ्रीदै करायो सुन्न नसकेर दिदीबैनीले आफैं एउटा हातले बच्चा र अर्को हातले खाँदै गरेको थाल बोकेर आँखाभरी आसु पार्दै निस्किए । मलाई सारै असैय भयो म पनि होटल साहुलाई कराँउदै निस्के । मलाई सारै बिझ्यो । गाउँले जिवन पैसाले शहरमा कहाँ सम्मान पाईन्थ्यो र ? दया र भावना मिसउन पर्थ्यो नी । होटलमा सुतायो बालबच्चाले फोहर गरिदिन्थे कति त दिदी बहिनीहरुनै शौच गर्न नजानेर छरपष्ट पारेर हिड्थे । पैसा तिर्न जाँदा होटल वालाले ओच्यान सफा गरेर जा भनेर हप्काउँथ्यो । उल्टो नभएको पैसा थपेर आउन पर्थ्यो । हरे त्यो दिनसम्झदा पैसा तिरेर खाएको भात र सुतेको ओच्यानमा त्यत्रो अपमान सम्झेर म एक्लै धेरै पटक रोए ।
हामीलाई फेरी बैठक बस्ने खबर पुग्यो । पछिल्लो बैठकमा हामीले प्लान संग यी सबै दुख र पिडा पोख्यौं र आँटका साथ एउटा प्रस्ताव राख्यौं बैठक कोठा सहित एक जना निरन्तर रहने गरी सम्पर्क व्याक्ती, कर्मचारी र सम्पर्क कार्यालय व्यवस्था नभए सम्म हामी बैठकमा आउदैनौ भनेर सबैले त्यो दिनको पीडा सुनायौ । अनि त्यो व्यवस्था भएपछि हामीले टेन्टबाट भाँडा र ओड्ने ओच्याउने ल्याएरव्यवस्थापन गर्न थाल्यौं ।
करोडौंको महलमा अपमानको भात खानु र दुर्व्यावहारको बहुमुल्य विस्तरामा सुत्नु भन्दा मर्यादाको नुन र भात खाएर सम्मानको सिडिमै सुत्न निन्द्रा पर्ने रहेछ । हामीले एउटा साँघुरो कोठामा गरेको त्यो व्यवस्थापनमा दिदी बहिनीहरुले आफ्नो हातले पकाएको खानपाए,आफुले लगाएको विस्तरामा बाबुनानि सुताएर खुसीका गफ गर्न थाले । हामीले त्यही व्यवस्थापनलाई विस्तार गर्दै ग्रामीण महिला सेवा केन्द्रको विस्तारित रुप दिन थाल्यौं। नसोचेको उपल्ब्धी मान्नुपर्छ शहरको अपमानको विस्तारित रुप नै आजको ग्रामीण महिला सेवा केन्द्रको कार्यालय हो । यसको कथा अथाह छ ।
त्यति बेला २०५६ मा गाउँका महिलालाई निस्कन कहाँ सजिलो थियो र ? चुलो, चौको र घरकोचौघेरा बाट बाहिर निस्कन हामीलाई पारिवारीक जेलनेल र सामाजिक काँडेतार नै तोडेर निस्कनु पर्थ्यो । खै के कसरी निस्कन्थ्यौं हामी न घरको अनुमती न हामी संग हिड्ने कुनै सम्पती न समुदायको रुची ? समुदायमा महिलालाई हिड्न बोल्न कुनै स्वतन्रता थिएन ।







