तनहुँ-१ मा उपनिर्वाचन लड्न कांग्रेसका १३ जनाले दिए आवेदन

जनपत्र
१३ चैत्र २०७९, सोमबार ०७:५९

तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार हुन नेपाली कांग्रेसका १३ जनाले आवेदन दिएका छन्।

कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले माग गरेअनुसार वैशाख १० मा हुने उपनिर्वाचन लड्न १३ जना आकांक्षीले आवेदन दिएका हुन्।

केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई लगायतले उम्मेदवार हुन आवेदन दिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ।

साथै नेताहरू लक्ष्मी आचार्य, विष्णु पन्त, पूर्वजिविस सभापति रामचन्द्र पोखरेल, क्षेत्रीय सभापति श्याम मौरती, तनहुँ उपसभापति देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, डोबाटे विश्वकर्मा, अर्जुन अधिकारी र सरिता गुरूङले उम्मेदवार हुन क्षेत्रीय समितिमा आवेदन दिएका छन्।

क्षेत्रीय कार्यसमितिले तोकेअनुसार जनही छ हजार शुल्क बुझाएर उनीहरूले उम्मेदवार हुन आवेदन दिएका छन्।

नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराईले तनहुँ १ मा उम्मेदवार हुन आफूले आवेदन दिइसकेको सेतोपाटीलाई जानकारी दिए।

तनहुँ १ मा गत मंसिर ४ मा भएको चुनावमा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका थिए। गत फागुन २५ गते पौडेल राष्ट्रपति भएपछि यो क्षेत्र रिक्त छ।

आवेदन आएका नामहरू क्षेत्रीय कार्यसमितिले अब जिल्ला, प्रदेश हुँदै केन्द्रमा सिफारिस पठाउनेछ।

केन्द्रमा रहेको संसदीय बोर्डले उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने निर्णय गर्नेछ।

उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका भएकोले त्यसअघि नै उम्मेदवार तय भइसक्नुपर्ने हुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*