बारा, चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

जनपत्र
१२ चैत्र २०७९, आईतवार ०६:५६

चितवन २, तनहुँ १ र बारा क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज ९आइतबार०सम्म दल दर्ता गर्न सकिने जनाएको छ। वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत ८ देखि १२ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको थियो।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

उपनिर्वाचन भाग लिन चाहने राजनीतिक दलहरुले आज (आइतबार) अपराह्न (कार्यालय समय)सम्म दल दर्ता गर्न सक्नेछन्।

आयोगले यसअघि नै चैत १६ गते उपनिर्वाचन प्रयोजनका लागि आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिसकेको छ। कार्यतालिका अनुसार चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।

तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका सासंद रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुने तय भएको हो।

चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएपछि उपनिर्वाचन हुने तय भइसकेको थियो।

आयोगले यसअघि चितवन–२ का लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन गर्नेगरी तयारी गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*