उपराष्ट्रपतिको मतदानमा किरियापुत्रीदेखि घाइतेसम्म

उपराष्ट्रपति निर्वाचनका लागि शुक्रबार मतदाताहरुको उत्साहपूर्ण सहभागिता रह्यो । तीन राजनीतिक दलका चार उम्मेदवार रहेको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न किरियापुत्रीदेखि अस्पताल भर्ना भएका घाइते मन्त्रीसमेत सहभागी थिए ।
उपराष्ट्रपतिका लागि प्रदेश सांसदको मतभार ४८ रहेको थियो । एक भोटको पनि अर्थपूर्ण तथा निर्णायक हुने भएका सांसदहरु जटिल परिस्थितिकाबीच निर्वाचनमा सहभागी भएका हुन् ।
उपराष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धन दलबाट एक जना उम्मेदवार उठाउने तयारी थियो । सहमति नजुटेपछि गठबन्धनबाटै तीन जनाको उम्मेदवारी पर्यो । जसपाबाट गठबन्धन उम्मेदवार रामसहाय यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी परेको थियो ।
अन्तिम समयमा नामावली फिर्ता नलिएपछि प्रमिलाको उम्मेदवरी कायमै रहे पनि उनले आफ्नो उम्मेवारी निश्क्रिय पारेकी थिइन् ।
सत्तारुढ दल जनमत पार्टीबाट ममता झाले पनि आफ्नो उम्मेदवारी कायमै राखेकी थिइन् । यस्तै, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति उम्मेदवार थिइन् ।
उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसदका दुवै सदनका सदस्य तथा प्रदेशसभा सदस्य मतदाता रहेकाले विभिन्न परिस्थितिका बाबजुद पनि शुक्रबार सक्रियपूर्वक निर्वाचनमा भाग लिएका थिए ।
उपराष्ट्रपति निर्वाचनमा मतदान गर्नका लागि बुवाको किरिया बसेका गण्डकी प्रदेश सांसद प्रकाश बराल पनि विमान चढेर काठमाडौं आएका थिए ।
प्रदेशसभा सदस्य बरालका बुवा लोकराज बरालको गत फागुन २६ गते निधन भएको थियो । बुवाको निधनमा किरिया बसेका बराल शुक्रबार पोखराबाट विमान चढेर काठमाडौं आइपुगेका हुन् ।
नेपाली कांग्रेसबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका बराल पोखराका स्थायी बासिन्दा हुन् । बुवाको किरिया बसेको आठौं दिनका दिन उनी कोरा लगाएर नयाँ बानेश्वरस्थित मतदान केन्द्र आइपुगे ।
यस्तै, जनता समाजवादी पार्टी जसपाबाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भई सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका मोहम्मद अब्दुल कलाम आजादलाई पनि अस्पतालको शैयाबाट एम्बुलेन्समा राखेर संसद भवन नयाँ बानेश्वर ल्याइएको थियो ।
खुट्टामा चोट लागेर काठमाडौंस्थित ट्रामा सेन्टरमा उपचार गराईरहेका राज्यमन्त्री आजादलाई एम्बुलेन्समा राखेर मतदानस्थल ल्याइपुर्याएको हो ।
खुट्टामा चोट लागेर अपरेशन गराइएका आजाद हिड्न नसक्ने अवस्थामा थिए । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता थिए ।