सहिद स्मारक ए डिभिजन लिग: सातदोबाटो शीर्ष स्थानमा उक्लिंदा हिमालयन र संकटाले अङ्क बाँडे

जनपत्र
३ चैत्र २०७९, शुक्रबार ०७:३८

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा सातदोबाटोले एफसी खमुलटारलाई २-१ ले पराजित गर्दा अर्को खेलमा संकटा भने हिमालयन शेपासँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ।

च्यासल मैदानमा भएको खेलमा सातदोबाटोको जितमा दिपक सिंह ठकुरी र सर्डरुबेक मतमुरातोभले समान १-१ गोल गरे। खुमलटारका लागि राजिब लोप्चानले एक गोल फर्काएपनि टिमको हार टार्न सकेनन्।

खेलको १३ औं मिनेटमा सर्डोरबेकको गोलबाट सातदोबाटोले सुरुवाती अग्रता लिएको थियो। २५ औं मिनेटमा दिपकले टिमको अग्रता दोब्बर बनाए। पहिलो हाफमा बनाएको २-० को अग्रतानै उसलाई शीर्ष स्थानमा पुग्नका लगि पर्याप्त भयो। यद्यपि ६३ औं मिनेटमा खुमलटारका राजिबले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा सातदोबाटोले लिगमा चौंथो जित हासिल गर्यो। सातदोबाटोले ५ खेलमा १२ अंक जोडेको छ। खुमलटार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ।

त्यस्तै बिहीबारनै हिमालयन शेर्पा क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंङ्क बाडेका छन्। एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन्। हिमालयनको यो दोस्रो बराबरी हो। बराबरीसँगै हिमालयनले ५ खेलमा ५ अंङ्क जोडेर ११ औं स्थानमा रहेको छ। संकटाको भने यो तेस्रो बराबरी हो। उसको ५ खेलमा ६ अंङ्क रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*