प्रधानमन्त्री कप थ्री नेशन्स कप चैत ८ बाट: टिकट शुल्क ५ सय र १ हजार

जनपत्र
३० फाल्गुन २०७९, मंगलवार ०७:०७

प्रधानमन्त्री कप थ्री नेशन्स कप फुटबल चैत ८ गतेबाट सुरु हुने भएको छ। प्रतियोगितामा नेपाल, भुटान र लाओस सम्मिलित हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

प्रतियोगिताका लागि ५ सय र १ हजार रुपैयाँ टिकट शुल्क एन्फाले तोकेको छ। प्रतियोगिताका लागि ब्रोडकास्टिङ र टिकेटिङको प्रकृया अघि बढाएको एन्फा प्रवक्ता शुरेश शाहले बताए।

प्रतियोगितामा चैत ८ गते नेपाल र लाओस, ११ गते लाओस र भुटान, १४ गते नेपाल र भुटान भिड्ने छन् भने १७ गते फाइनल खेल खेलाउने एन्फाको तयारी छ। प्रतियोगिताका लागि एक करोड ७७ लाख बढी खर्च लाग्ने एन्फाको अनुमान छ।

यो प्रतियोगितामा नेपाल पहिलो पटक नवनियुक्त प्रशिक्षक अबर्टो एनेसको प्रशिक्षणमा नेपाल पहिलो पटक मैदान उत्रनेछ। फागुन १७ गते बसेको एन्फा कार्यसमितिको बैठकले उनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

किन सँधै कमजोर टोलीसँग मैत्रीपूर्ण खेल भन्ने प्रश्नमा शाहले बलिया टोलीसँग पनि पत्राचार गरेको भए पनि तालिका नमिलेको बताए।

‘सबै देशको आफूभन्दा ठूलो टोलीसँग खेल्ने प्रयास हुन्छ। सबै टोली आआफ्नो तरिकाले ब्यस्तो भएकोमा उपलब्ध टोली सँग खेलेको हो,’ शाहले भने, ‘फिलिपिन्स मलेसिया लगायतका टोलीसँग पनि पत्राचार भएको थियो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*