प्रचण्डविरुद्ध दुई रिट दर्ता गर्न आदेश

जनपत्र
२१ फाल्गुन २०७९, आईतवार ०६:५१

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गर्दै पेस गरिएको दुईवटा रिट दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले शुक्रबार सो रिटको दरपीठ बदर गरी दर्ता गर्न आदेश दिएको थियो । रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्र आरणले प्रचण्डले तीन वर्षअघि एक समारोहमा बोल्नुभएको अभिव्यक्तिलाई आधार बनाएर सो रिट दायर गर्नुभएको थियो । सो रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएपछि त्यसविरूद्ध निवेदन दिनुभएको थियो । सोही निवेदनमा सुनुवाइ गर्दै इजलासले सो आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

द्वन्द्वकालको घटनालाई नियमित अदालतभन्दा पनि संक्रमणकालीन न्याय संयन्त्रबाट सम्बोधन र निरूपण हुने नै भएकाले सर्वोच्चको क्षेत्राधिकारमा नपर्ने भन्दै यसअघि दरपीठ गरेको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले २०७६ को माघीको अवसरमा राजधानी खुलामञ्चमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिलाई आधार बनाएर सो माग गरिएको थियो ।

प्रचण्डले तीन वर्षअघि भन्नुभएको थियो– ‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको । साथीहरू, यो सत्य होइन । सत्य के हो भन्न दिनुस् । हिजोका सामन्ती राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर, हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हँुदैन । मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा÷नराम्रा काममा म जिम्मेवारी लिन्छु । म त्यसबाट भाग्ने हुनै सक्दैन । तर, नगरेको कामको दोष पनि मलाई थुपार्नु भएन ।’

सो कथनलाई आधार बनाएर ‘प्रचण्ड’लाई पक्राउ गर्ने आदेश माग गरिएको रिट सर्वोच्चले प्रशासनले गएको कात्तिकमा दरपीठ ९दर्ता गर्न अस्वीकार० गरेको थियो । आफूहरू द्वन्द्वपीडित भएको र सत्यनिरूपण तथा मेलमिलाप आयोगमा समेत प्रचण्डविरूद्ध उजुरी दिएको रिटमा उल्लेख गरिएको छ ।

‘५ हजार व्यक्ति मारेको भन्दै नैतिक जिम्मा लिई सार्वजनिक रूपमा अभिव्यक्ति दिएका दाहाललगायतलाई कानुनबमोजिम हदैसम्मको सजाय गरी पाउन तथा द्वन्द्वकै नाउँमा निवेदकहरूलाई पीडित बनाउने कार्यका लागि जवाफदेही पनि निजलाई नै बनाई राहत क्षतिपूर्ति परिपूरणको व्यवस्था गर्नू, गराउनू भनी परमादेशको आदेश जारी गरी पाऊँ’ –रिटमा भनिएको छ । निवेदकद्वयले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रकिया अघि बढाउनु भनी अन्तरिम आदेशसमेत जारी गरी पाउन माग गरिएको छ ।

प्रचण्डको अभिव्यक्तिले द्वन्द्वको समयमा भएको व्यक्ति हत्यामा निजको संलग्नता पुष्टि हुने भन्दै निवेदनमा निजलाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*