सातै प्रदेशका सांसदसँग आज राष्ट्रपति निर्वाचन केन्द्रित अन्तर्क्रिया गर्दै ८ दल

जनपत्र
१९ फाल्गुन २०७९, शुक्रबार ०७:२८

प्रदेशका प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्ने भएका छन्।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन केन्द्रित रहेर ८ दलका नेताहरूले प्रदेश सभा सदस्यहरूसँग छलफल गर्न लागेका हुन्।

यसका लागि नेपाली कांग्रेससहित दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सभा सदस्यहरूसँग राष्ट्रपति निर्वाचन र गठबन्धनबाट भावी केन्द्रीय र प्रदेश सरकार विस्तार र गठनलगायत विषयमा कुराकानी गर्न लागेका हुन्।

८ दलले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाएको कार्यदलले सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग कुराकानी गर्न प्रतिनिधिसमेत खटाएको छ।

कांग्रेसका पदाधिकारीहरूले प्रदेशमा हुने छलफलको नेतृत्व गर्नेछन्। त्यसका लागि कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सहमहामन्त्री बद्री पाण्डेलाई जिम्मेवारीसहित खटाएको छ।

बागमती प्रदेश सभा सदस्यहरूसँग भने काठमाडौंमै छलफल हुनेछ। आज दिउँसो १ बजे नयाँ बानेश्वरको आनन्द इभेन्टमा अन्तर्क्रिया कार्यक्रम राखिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन्। पौडेललाई भोट माग्दै ८ दलका शीर्ष नेताले बिहीबार तीनकुनेमा संघीय सांसदहरूसँग छलफल गरेका थिए। नेम्वाङलाई भोट माग्दै एमाले नेताहरू पनि बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्न पुगेका थिए।

राष्ट्रपति निर्वाचनमा रास्वपा र राप्रपाले कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक बसेका छैनन्। कसलाई मतदान गर्ने निर्णय गर्न बाँकी रहेको ती दलहरूले बताइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*