च्यासल रंगशालामा शुक्रवारदेखि ए डिभिजन लिगका खेल

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार ०७:२२

ललितपुरको च्यासल (काठमाडौं र ललितपुरको सीमा, बागमती नदीको किनारमा) अवस्थित च्यासल रंगशालमा यही फागुन १९ गते शुक्रवारदेखि नियमित रुपमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्वारा च्यासल रंगशालाको उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा यही फागुन १९ गतेदेखि प्रारम्भ हुने ए डिभिजन लिगका खेल यही रंगशालामा खेलाउने अखिल नेपाल फुटबल संघ एन्फाको तयारी छ ।

ललितपुर महाननगरपालिका ९ स्थित बागमती किनारको करिब ४९ रोपनी क्षेत्रफलमा फैलिएको यो रंगशाला सन् २००५ मा एन्फा टेक्निकल सेन्टरका रुपमा स्थापना भएको थियो । २०७४ मा स्तरोन्नतिसहित यो रंगशालाको पूनर्निर्माण थालिएको थियो ।

च्यासल रंगशालाको मैदान १ सय २० मिटर लम्बाइ र ७० मिटर चौडाई छ । मैदानको दक्षिण, पूर्व र पश्चिमतर्फ तीनतले प्यारापिट छ । हरेक ब्लकमा दुई शौचालय छन् भने दक्षिणतर्फको ब्लकमा चेन्जिङ रुम, रेफ्री रुम, मिडिया सेन्टर र मेडिकल रुम छन्  ।

१० हजार दर्शक क्षमताको प्यारापिटसहित रंगशाला निर्माण गर्ने सम्झौता भए पनि वाग्मती करिडोरको जग्गामा खोलाबाट २० मिटर परमात्र संरचना बनाउनुपर्ने नियमका कारण रंगशालाको क्षमता ८ हजारमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*