पुस १० मा भत्काइएको गठबन्धन पुन:स्थापना गरियो, सरकारमा मेरो दाबी छैन: उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जाने आफ्नो दाबी नरहेको बताएका छन्।
नेकपा माओवादी केन्द्र नेतृत्वको अहिलेको सरकारमा कांग्रेसलगायत दलहरू समावेश गर्नेबारे कुराकानी भइरहेका बेला खड्काले सरकारमा आफ्नो भने दाबी नरहने प्रष्टाएका हुन्।
गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको र त्यसलाई पुनर्स्थापित गर्ने सोही दिन गरिएको संकल्पलाई पूरा गरिएको उपसभापति खड्का बताउँछन्।
को पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिल्दा प्रचण्ड एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए।
सँगै चुनावमा गएका पार्टीहरूबीच असमझदारीका बीच सत्ता गुमेपछि पुस १० कै राति ७ दलीय गठबन्धन भत्काउने संकल्प कांग्रेसका नेताहरूले लिएका थिए।
सोहीअनुसार गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका सांसदहरूले विश्वासको मत दिए भने त्यसपछि झन् प्रधानमन्त्रीसँग संवादलाई निरन्तरता दिइरहे। राष्ट्रपति निर्वाचन मनोनयनसम्म आइपुग्दा कांग्रेसले पुरानो गठबन्धन ब्युँताउने र ७ दलीय गठबन्धन भत्काउँदै ८ दलीय गठबन्धन बनाएर शक्ति बाँडफाँटसमेत सहमति गरेको छ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाडेपछि १६ मन्त्रालय खाली छ। प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसलगायत दलहरूलाई अहिलेको सरकारमा सामेल गर्ने तयारी गरेका छन्।
सरकारमा कांग्रेस सहभागी हुने कुराकानी सुरू हुँदा उपसभापति खड्काले आफू भने सरकारमा नजाने बताएका छन्। खड्काले आफू पहिले नै मन्त्री भइसकेकोले अब फेरि मन्त्री नहुने बरू पार्टीका कामकारबाहीमा ध्यान दिने बताउने गरेका छन्।
‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनस्स्थापना गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ,’ उपसभापति खड्काले भने, ‘अब मेरो दाबी कुनै कुरामा छैन।’
कांग्रेस सरकारमा जाँदा उपसभापति खड्काको नेतृत्वमा जाने चर्चा हुन थालेपछि खड्काले ट्वीट गर्दै आफ्नो दाबी नरहेको प्रष्टाएका छन्।
‘मोरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरीदिनुहोस्,’ सबैमा अनुरोध भन्दै खड्काले ट्वीट गरेका छन्।