सरकार छाड्ने तयारीमा एमाले

जनपत्र
१३ फाल्गुन २०७९, शनिबार ०८:३१

राजनीतिक समीकरण र सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहितका दलहरूले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेपछि एमालेले सरकार छाड्ने तयारी गरेको हो । यसबारे आज बस्ने सचिवालय बैठकले निर्णय गने एमाले नेताहरुले बताएका छन् । सरकार छाडेलगत्तै एमालेको केन्द्रदेखि प्रदेशसम्मका महत्त्वपूर्ण पद गुम्नेछ । सङ्घीय सरकारमा एमालेका उपप्रधानमन्त्रीसहित ८ मन्त्री छन् ।

यस्तै एमालेसँग प्रदेश १, गण्डकी र लुम्बिनीमा मुख्यमन्त्री तथा मधेस प्रदेश र कर्णाली प्रदेशमा सभामुख र सुदूरपश्चिम प्रदेशमा उपसभामुख छन् । ६ वटा प्रदेशमा एमालेका २४ मन्त्रीहरु छन् । मङ्सिर ४ को चुनावपछि एमाले र माओवादीबीच प्रधानमन्त्री ५ वर्षे कार्यकालमा आधाआधा र राष्ट्रपति एमालेले पूरै कार्यकाल लिने सहमति भएको थियो । त्यही अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते प्रधानमन्त्री बन्नुभएको थियो।

पुस १० मा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपति चुनावका क्रममा फरक कित्तामा उभिएसँगै सत्ता समीकरण फेरिएको हो । नयाँ गठबन्धनमा भएको सहमतिअनुसार माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पालैपालो प्रधानमन्त्री बन्नेछन् । सुरुको अढाई वर्ष प्रचण्ड र त्यसपछि देउवा डेढ वर्ष र नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने सहमति भए पनि यसबारे ठोस निर्णय हुन बाँकी रहेको नेताहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*