प्रचण्ड–ओली दरार : सरकारको निर्णयमा ओलीको विरोध
एमाले–माओवादी केन्द्रसहितको सत्ता गठबन्धन संकटतर्फ उन्मुख बन्दै गएको छ । राष्ट्रपति निर्वाचनको समयसँगै गठबन्धनमा फेरबदल आउने संकेत देखा पर्न थालेका छन् ।
एकाएक सत्तामा पुगेको एमाले फेरि सत्ता बाहिर त हुँदैन भन्ने आशंका बढ्न थालेको छ। आफू अनुकुल सरकार विस्तार गरेका एमाले अध्यक्ष केपी ओलीले गठबन्धनमा दरार भएको संकेत गरेका छन् । पछिल्लो समय सत्ता घटक दल माओवादीप्रति ओली कडाईपूर्वक बोल्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेला भएको भनिएको पूर्वसहमति पालनामा माओवादी अनुदार बनेपछि सत्ता गठबन्धन भत्किने बाटोमा छ । प्रधानमन्त्री र सभामुखमा आलोपालो बन्ने र राष्ट्रपति एमालेलाई दिने माओवादी–एमालेबीच सहमति जुटेको थियो ।
सोहीअनुसार पहिलो कार्यकाल प्रचण्ड प्रधानमन्त्री भए भने सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भए । सोहि अनुसार ओलीकै सल्लाहमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायमै राखेको छ ।
ओलीले आफूले चाहेको खण्डमा सरकार जतिबेला पनि संकटमा पार्न सक्छु भन्ने अघोषित सन्देश प्रवाह गर्न थालेपछि झस्किएका प्रचण्डले सत्ता संकट देखेसँगै पुरानो गठबन्धन ब्यूताउने कोसिसलाई तीब्र पार्दै लगेका छन् भने माओवादीसँगको सम्बन्धमा दरार उत्पन्न भइसकेको सन्देश ओलीले विहीबार मात्रै एक कार्यक्रममा दिएका छन् ।
एमालेकै सहमतिमा दिएको जनयुद्ध दिवसको बिदालाई ओलीले १० दिनपछि हिँसा दिवसमा सरकारले बिदा दिएको टिप्पणी गर्दै प्रधानमन्त्रीसँग रोष पोखेका छन् ।
ओलीले यस्तो जनाएपनि सरकार गठनको बेला भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउने दाबी गर्दै आएका छन ।
ओलीले आफ्नै जन्मदिनको अवसरमा बालकोटमा आयोजित कार्यक्रममा राष्ट्रपतिबारे प्रचण्डले पुस १० गते नै एमालेसँग सहमति गरिसकेकाले कांग्रेससँग कुनै सम्झौता नहुने गरे ।
राष्ट्रपति चयनमा कांग्रेससँग सहमति हुनै नसक्ने ओलीले बताइरहँदा प्रचण्डले सत्ता गठवन्धन इतर दलका नेताहरुसँगको वार्तालापलाई तीब्रता दिएका छन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुसँग छलफल गरेका प्रचण्डले राष्ट्रपतिबारे फागुन १३ गते थाहा हुने भन्दै गठबन्धन फेरिनसक्ने संकेत गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको क्रममा नै राष्ट्रपतिबारे कांग्रेसलाई सघाउने मोटामोटी सहमति जुटिसकेको दाबी गरिएको छ ।
यता, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायतका साना दलहरुसँगको छलफल पनि बाक्लिएको छ । यी परिदृ्श्यका कारण एमाले–माओवादीको गठबन्धन भत्किने सम्भावना बढ्न थालेको छ ।
कांग्रेसले सत्ता गुमाएपछि प्रचण्डसँग देखाएको छटपटी र गल्ती स्वीकार गरेपछि प्रचण्ड ओलीसँग भन्दा देउवा र माधव नेपालसँग नै आफू सुरक्षित रहने ठानेका छन् ।
माओवादीले पुस १० का परिस्थिति बदलिएको निश्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा स्वार्थ मिल्नेसँग अघि बढ्ने निर्णय गरिसकेको छ ।





