अस्ट्रेलियाको टोलीमा म्याक्सवेल र मार्शको कमब्याक
भारतविरुद्धको एकदिवसीय सिरिजका लागि अस्ट्रेलियाको टोली घोषणा गरिएको छ । क्रिकेट अस्ट्रेलियाले आज प्याट कमिन्सको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
चोटका कारण विश्राम गरिरहेका अलराउन्डरद्वय ग्लेन म्याक्सेवल र मिचेल मार्शले टोलीमा कमब्याक गरेका छन् । म्याक्सवेल खुट्टा र मार्श घुँडाको शल्यक्रियापछि टोलीमा फर्किएका हुन् । यी दुई खेलाडी अस्ट्रेलियाको एकदिवसीय टोलीका महत्वपूर्ण सदस्य हुन् ।
अस्ट्रेलियाले भारतसँग १७ मार्चदेखि एकदिवसीय श्रृंखला खेल्दैछ । सिरिजको दोस्रो खेल १९ मार्च तथा तेस्रो एकदिवसीय २२ मार्चमा खेल्ने तालिका छ । त्यसअघि अस्ट्रेलियाले भारतसँग नै चार खेलको टेस्ट सिरिज खेलिरहेको छ ।
सिरिजमा अस्ट्रेलियाले २–० ले पछि छ । सिरिजको पहिलो खेलमा ऊ एक इनिङ र १३२ रन तथा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । भारत–अस्ट्रेलियाबीचको तेस्रो टेस्ट १ मार्चदेखि इन्दोरमा सुरु हुनेछ ।
अस्ट्रेलियाको एकदिवसीय टोली स् डेविड वार्नर, स्टिभ स्मिथ, ट्रभिस हेड, प्याट कमिन्स (कप्तान), जोस इंग्लिस, मार्नस लाबुसेन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, झय रिचर्डसन, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एलेक्स केरी, क्यामरन ग्रीन, एडम जाम्पा, सन एबोट र एस्टन आगर ।






