एकीकृत समाजवादीले भन्यो : एमालेबाट राष्ट्रपतिमा प्रस्ताव आएको छैन, सुरुमै दाबी पनि रहँदैन

एकीकृत समाजवादीले राष्ट्रपतिका लागि एमालेबाट प्रस्ताव नआएको बताउँदै सुरुमा दाबी प्रस्तुत पनि नगर्ने जनाएको छ । तर, सहमतिका लागि आवश्यक परे पछि नहट्नेसमेत जनाएको छ । ‘सहमतिमा प्रस्ताव आए राष्ट्रपति स्विकार्ने, तर सुरुमै दाबी प्रस्तुत नगर्ने निष्कर्ष पार्टीको छ,’ उपाध्यक्ष जयन्ती राईले भनिन् ।
राष्ट्रपति निर्वाचनलगायत विषयमा निर्णय लिन बुधबार एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल दुवैलाई राष्ट्रपतिका लागि एमाले अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको चर्चा छ ।
तर, उपाध्यक्ष राईले दलहरूबीच सहमति भएको अवस्थामा पार्टीभित्र उम्मेदवारलाई लिएर विवाद नहुने बताइन् । ‘अन्य दलसँग सहमति जुट्ने अवस्थामा जसको नाममा सहमति हुन्छ, उहाँ नै हाम्रो उम्मेदवार बन्नुुहुन्छ,’ उनले भनिन्, ‘राष्ट्रिय सहमति भयो भने हो, नत्र हामी दाबी गरेर उम्मेदवार बन्दैनौँ ।’ बैठकपछि सम्मानित नेता खनालले राष्ट्रपतिको निर्वाचनबारे एकीकृत समाजवादीको चासो हुनु स्वाभाविक रहेको बताए । ‘हामीसँग पनि निकै ठूलो मत छ । त्यसैले राष्ट्रपतिको निर्वाचनबारे हाम्रो चासो रहन्छ । सबैसँग कुराकानी गर्छौँ,’ उनले भने । खनालले पाँचदलीय गठबन्धन ब्युँताउने प्रयास भइरहेको पनि बताए ।
स्रोतका अनुसार अध्यक्ष नेपालको इच्छा भने राष्ट्रपतिमा भन्दा पनि कार्यकारी प्रधानमन्त्रीमा छ । बैठकमा नेपालले पछिल्लो राजनीतिक परिस्थिति र एमाले अध्यक्ष ओलीसँग भएको भेटबारे संक्षिप्त ‘ब्रिफिङ’ गरेका थिए । ‘बाहिर आएजस्तो ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेका होइनन्, हल्ला बढी नै भयो ।
राष्ट्रियतादेखि जनजीविकासम्मका कुरा निकालेर ओलीले मिलेर जाऔँ, हामी मिलेपछि धेरै काम गर्न सकिन्छ भने,’ बैठकमा नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने । ओलीले नेपालसँगको भेटमा राष्ट्रियता, लोकतन्त्र, राजावादीको सक्रियता र राजनीतिक अस्थिरताबारे चर्चा गरेका थिए । ती नेताका अनुसार यस विषयमा ओलीलाई दिएको जवाफबारे भने नेपालले बैठकमा केही खुलाएनन् । माओवादी, कांग्रेससहितका दलहरूसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने नेपालले बताएका थिए । बैठकले राष्ट्रपतिको निर्वाचन सम्बन्धमा सम्बन्धित सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । प्रचार विभाग प्रमुख जगन्नाथ खनालले पनि पार्टी अध्यक्ष नेपाललाई राष्ट्रपतिको प्रस्ताव कतैबाट नआएको दाबी गरे ।
महन्थको कसरत जारी
उमेरले ८० वर्ष पुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले राजनीतिबाट सुखद र सम्मानजनक बहिर्गमनको स्वार्थसहित राष्ट्रपतिको साझा उम्मेदवार बन्ने कसरत जारी राखेका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका लोसपाका नेताहरू राष्ट्रपतिमा ठाकुरको प्रस्ताव लिएर बुधबार कांग्रेस सभापति शेरबहादुर देउवलाई भेट्न धुम्बाराही पुगे । बिहान १० बजे अध्यक्ष ठाकुरसहित पुगेका नेताहरूले विगतमा कांग्रेस नै रहेका ठाकुरको नाममा राष्ट्रिय सहमति खोज्न देउवालाई आग्रह गरे ।
लोसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीका अनुसार प्रचण्ड र ओलीपछि देउवा पनि ठाकुरका नाममा सकारात्मक देखिएका छन् । ‘शेरबहादुर देउवाजीले महन्थ ठाकुर सहमतिका लागि उपयुक्त पात्र रहेको, तर पार्टीभित्र छलफल गर्नुपर्ने बताउनुभयो,’ भण्डारीले भने । देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले विभिन्न नाममा चर्चा भइरहे पनि कांग्रेसले आधिकारिक हिसाबले पात्रमाथि निर्णय गरिनसकेको उहाँको भनाइ छ । अहिले जुन खालको पात्रको खोजी भइरहेको छ, जुन हिसाबले शालीन, भद्र र डेलिग्टेड मान्छे हुनुपर्यो भन्ने चर्चा छ, त्यसका लागि महन्थ ठाकुर उपयुक्त पात्र हो भन्ने हाम्रो ठम्याइ छ । ’
तीन दलका शीर्ष नेताको सकारात्मक प्रतिक्रियाबाट उत्साहित लोसपा नेताहरू अन्य दलका नेतृत्वलाई पनि भेट्ने तयारीमा छन् । बुधबार संसद्मा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरूसँग पनि छलफल भएको र उनीहरूसमेत ठाकुरलाई साझा उम्मेदवार बनाउँदा मधेसको प्रतिनिधित्व हुने भन्दै सकारात्मक देखिएको लोसपाका अर्का नेता डा. सुरेन्द्र झाले बताए ।
‘हामीले ठूला दलबीच राष्ट्रपतिको साझा उम्मेदवार टुंगो लाग्न नसकेको अवस्थामा निर्विवाद, सादगी, अनुशासित र गणतन्त्रवादी नेताका रूपमा ठाकुरको नाम अघि सारेका छौँ,’ नेता झाले भने, ‘उहाँको अरू कुनै स्वार्थ छैन । राष्ट्रपतिजस्तो आलंकारिक पदलाई स्वतन्त्र बनाएर संघीयता, समानुपातिक समावेशितालगायत परिवर्तनको एजेन्डा संस्थागत गरेर गणतन्त्र र संविधानको संरक्षण गर्दै राजनीतिबाट सुखद र सम्मानजनक बहिर्गमन मात्रै उहाँको स्वार्थ हो ।’