हेलो मधेश सरकार कार्यक्रम ल्याइने

जनपत्र
९ फाल्गुन २०७९, मंगलवार ०८:०२

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले हेलो मधेश सरकार कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । गृह जिल्ला सिरहा आइपुग्नुभएका मन्त्री सिंहले लहानमा पत्रकारहरूसँगको भेटघाटमा यस्तो कुरा बताउनुभएको हो ।

मधेशको समृद्धि नभए देशको समृद्धि सम्भव नरहेको मन्त्री सिंहले भन्दै गफ गरेर समय बिताउनेभन्दा काम गरेर देखाउने अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेशमा फैलिएको भ्रष्टाचार, महिला हिंसा र लागूऔषधको ओसारपसार तथा सेवनले देखिएको समस्या समाधान गर्न हेलो मधेश सरकार कार्यक्रम प्रभावकारी हुनेछ ।”

विगतमा प्रदेश सरकारले के कति काम ग(यो त्यसको विषयमा जनताले मूल्याङ्कन गरेर नयाँ जनादेश दिएको मन्त्री सिंहले प्रस्ट्याउँदै भन्नुभयो, “मधेशमा फैलिरहेको दाइजो प्रथा हटाउन र भ्रष्टाचार नियन्त्रण तथा शान्ति सुरक्षाका लागि हेलो मधेश सरकारको माध्यमबाट नागरिकको कुरा प्रत्यक्ष रूपमा सुनेर कार्यान्वयन गरिनेछ ।” मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हरेक मन्त्रालयलाई दिएको जिम्मेवारीअनुसार प्रगति विवरण माग गरेर राम्रो पद्धति थाल्न नै हेलो मधेश सरकार कार्यक्रम जनतासँग जोडिन लागेको उहाँले प्रस्ट्याउनुभयो । गोरखापत्र अनलाइनबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*