नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव

ओलीकै आग्रहमा नेपालसँग चार घण्टा लामो वार्ता, एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्नुपर्ने ओलीको सर्त
जनपत्र
९ फाल्गुन २०७९, मंगलवार ०७:५५

माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने धारणा बनाउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । महाराजगन्जस्थित एक घरमा आइतबार साँझ भएको ४ घण्टा लामो वार्तामा ओलीले एकीकृत समाजवादी एमालेमा समाहित गर्नसमेत प्रस्ताव गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादीले पदाधिकारी बैठक गरेरै पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको निष्कर्षसहित स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निर्णय लिएको छ । यसले राष्ट्रपतिमा एमालेसँग सहकार्यको ढोका लगभग बन्द गरेको छ । तर कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्नुअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पुर्‍याउने लिखित सहमति खोजेका छन् । कांग्रेस नेताहरूले कम्तीमा तीन वर्ष दिन सकिने प्रस्ताव दाहाललाई गरिसकेका छन् । माओवादीको सोमबार भएको पदाधिकारी बैठकले भावी राष्ट्रपतिका लागि नयाँ समीकरणको ढोका खुला गर्दै आवश्यकताअनुसार निर्णय लिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललाई जिम्मेवारी दिएको छ ।

माओवादीबाट साथ नपाइने बुझेपछि एमाले अध्यक्ष ओलीले पनि आफ्नो पक्षबाट राष्ट्रपति बनाउने प्रयास जारी राखेका छन् । ओलीकै प्रस्तावमा आइतबार साँझ नेपालसँग वार्ता भएको थियो । त्यसपछि नेपालले आफू राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न दाहाललगायत कांग्रेस नेताहरूसँग भेटघाट गरेका छन् । उनले ओलीसँगको भेटबारे दाहाललाई सोमबार बताएका थिए ।

‘एमालेले समर्थन गर्छ भने तपाईंहरूले पनि गर्नुस्, संस्थागत निर्णय गराउनुस्,’ नेपालले दाहाललाई भनेका थिए । राष्ट्रपतिको उम्मेदवारमा जतिसक्दो छिटो स्पष्ट निर्णय लिन पनि उनले आग्रह गरेका थिए । नेपालसँगको वार्तापछि दाहाल पार्टी पदाधिकारी बैठकमा पुगेका थिए ।

राष्ट्रपतिमा देउवालाई अघि सार्न दबाब
माओवादी बैठकमा दाहालले पछिल्ला दिनमा एमाले, कांग्रेस र एकीकृत समाजवादीका नेतासँग भएका छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए । ओलीले सुरुका छलफलमा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र एमाले स्थायी कमिटी सदस्य गुरुराज बरालको नाम प्रस्ताव गरेको तर माओवादीका पदाधिकारीहरूले अस्वीकार गरेको ब्रिफिङ दाहालको थियो । ‘उहाँको मुख्य चाहना डोरमणि पौडेल र गुरु बराल हो । तर मैले ती नाम हुँदैनन्, राष्ट्रिय सहमति हुने खालका नाम प्रस्ताव गर्नुस् भनें,’ दाहालको भनाइ उद्धृत गर्दै माओवादीका एक पदाधिकारीले भने, ‘पछिल्ला भेटमा उहाँले अरूको नाम त लिनुभएको छैन तर उहाँले माधव नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाललाई छुट्टाछुट्टै भेटेर तपाईं नै राष्ट्रपतिको उम्मेदवार हो भन्नुभएछ । त्यसकारण परिस्थिति जटिल छ । एकरदुई दिन हेरौं ।’ दाहालले कांग्रेस, एकीकृत समाजवादीलगायत दललाई मिलाएर राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्नुपर्ने परिस्थिति रहेको बताएका थिए ।

कांग्रेसले राष्ट्रपति चाहेको छ । माधव नेपालले राष्ट्रपति चाहेका छन् । एमालेको त हुने नै भयो । त्यसकारण के गर्ने भन्ने अझै दुई दिन पर्खिनुपर्ने भयो । परिस्थिति जटिल छ । यसबीचमा सोचौं, १२ गते निर्णय गरौंला । एकातिर एमालेलाई दिँदा सबै उसकोमा जान्छ । अर्कोतर्फ राप्रपा र स्वतन्त्र पार्टीलगायतका शक्तिहरूसँग मिलेर हामीमाथि घेराबन्दी गरिराखेको छ, परिस्थिति ठीक छैन । कांग्रेसलगायत माधव नेपालहरूलाई मिलाउनुपर्‍यो । कांग्रेसलाई विश्वासमा लिनुपर्छ । तर अझै दुईरतीन दिन सोचौं ।

बैठकपछि माओवादीका एक पदाधिकारीले राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्ने निश्चित भएको बताए । राष्ट्रपतिका लागि विभिन्न दलबाट धेरै आकांक्षी रहे पनि ठूलो दल कांग्रेसबाट नै राष्ट्रपति चयन हुने गरी राजनीतिक घटनाक्रम विकसित भएको उनको भनाइ छ । माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले भने स्वार्थ जोसँग मिल्छ, त्यससँग सहकार्य गर्ने निष्कर्ष पार्टीले निकालेको बताए । ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ । गणतन्त्र, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ,’ उनले भने, ‘हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।’

प्रधानमन्त्री दाहालले सोमबार दिउँसो मात्र बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला सँगै रहेका शक्तिहरू फेरि पनि एकै ठाउँमा उभिन आवश्यक रहेको बताएका थिए । माओवादीको गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नॅपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’

दाहालको भनाइलाई कांग्रेसबाट राष्ट्रपति हुने संकेतका रूपमा धेरैले बुझेका छन् । गत पुस १० मा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका दाहालले पुस २६ मा कांग्रेससहित प्रतिपक्ष दलबाट पनि विश्वासको मत पाएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव अघि सारेका हुन् । त्यसपछि नै दाहालले कांग्रेससहित तत्कालीन पाँचदलीय गठबन्धनमा आबद्ध नेताहरूसँग संवाद बढाएका थिए । संवादको अन्तर्यमा एमालेबाहिरबाट राष्ट्रपति खोज्ने रणनीति थियो । राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्न केही दिन मात्र बाँकी रहँदा माओवादीको पदाधिकारी बैठकले राष्ट्रिय सहमति जुटाएर पार्टीका तर्फबाट निर्णय लिने अधिकार दाहाललाई दिएको छ ।इकान्तीपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*