गति लिँदै हेटौंडाको गौरीटार

एक दशकपछि हेटौंडा ६ स्थित गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानको निर्माण कार्यले तीव्रता पाएको छ ।
जनपत्र
१२ श्रावण २०७६, आईतवार ०८:१३

हेटौंडा — एक दशकपछि हेटौंडा उपमहानगरपालिका ६ स्थित गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठान ९एकेडेमी० को निर्माण कार्यले तीव्रता पाएको छ ।
प्रदेश ३ सरकारले प्रतिष्ठानका लागि बजेटसहित चासो देखाएकाले निर्माण कार्यले तीव्रता पाएको हो । प्रदेश सरकारले खेलकुद प्रतिष्ठानभित्र फुटबल मैदान बनाउन गत आवमा ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमले फुटबल मैदान बनाउने कार्य भइरहेको जिल्ला खेलकुद विकास समितिका सचिव खुशराज दाहालले बताए । ‘ठेक्कामार्फत खेल मैदान बनाउने कार्य भइरहेको छ,’ उनले भने ।

प्रदेश सरकारले चालु आवमा उक्त खेलकुद प्रतिष्ठानपरिसरमा विभिन्न खेलको पूर्वाधार निर्माण गर्न १३ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रतिष्ठानको गुरुयोजनालाई सहयोग पुग्ने गरी पूर्वाधार निर्माण गर्न उक्त रकम विनियोजन गरेको मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘गौरीटारमा निर्माणाधीन खेलकुद प्रतिष्ठानलाई छिटै नै सञ्चालनमा ल्याउन प्रदेश सरकारले आवश्यक रकम लगानी गर्नेछ ।’

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले चालु आवमा निर्माणाधीन दुईटा कभर्डहल सम्पन्न गर्न ३ करोड रुपैयाँ विनियोजन गरेको छ । विगतमा सरकारले प्रतिष्ठानको निर्माण कार्यलाई प्राथमिकता नदिएकाले कछुवा गतिमा अघि बढेको थियो । प्रदेश सरकारले आफ्नो गौरवको योजनाअन्तर्गत प्रतिष्ठानलाई राखेको छ ।

‘शिलान्यास गरेको १० वर्ष बित्न लागिसक्दा पनि बजेट अभावले गर्दा प्रतिष्ठानको निर्माण कार्यले गति लिन सकेको थिएन,’ मकवानपुर जिखेविस अध्यक्ष माधव तिमल्सिनाले भने, ‘प्रदेश सरकारले गौरवको योजनामा राखेर बजेट विनियोजन गरेकाले प्रतिष्ठानले अब आकार लिनेछ ।’

२३ बिघा जमिनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडीहरू बसोबास गर्ने सुविधायुक्त छात्रावासको निर्माण गरिएको छ । उक्त छात्रवास ३८ कोठाको छ । उक्त छात्रावासका एक सय २० खेलाडी अट्ने छन् । खेलाडीका लागि क्यान्टिन पनि तयारी भइसकेको छ । प्रतिष्ठानभित्र विद्युत र पानीको व्यवस्था गरिसकिएको छ ।

विगतमा मुलुकको आवश्यकताभन्दा पनि पहुँचको आधारमा बजेट विनियोजन हुने भएकाले प्रतिष्ठानको निर्माण कार्यले प्राथमिकता पाउन नसकेको बुझाइ छ । ‘खेलकुद क्षेत्रनिम्ति प्रतिष्ठानको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नु अति आवश्यक छ,’ सचिव दाहालले भने, ‘तर विगतमा पहुँच नभएकाले आवश्यकताअनुसार बजेट विनियोजन हुन सकेन, अब प्रदेश सरकारले चासो देखाएकाले प्रतिष्ठानको निर्माण कार्यले गति लिने अपेक्षा छ ।’

राष्ट्रिय खेलकुद परिषदको नाममा रहेको २३ बिघा जमिनमा २ किलोमिटर कम्पाउन्ड घेर्ने र रंग लगाउने कार्य गरिएको छ । ८ वटा प्रवेशद्वार पनि निर्माण गरिएको छ । प्रतिष्ठानको निर्माण कार्यमा हालसम्म ८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

करिब ५ अर्ब लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ २०६६ जेठ २८ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिष्ठानको शिलान्यास गरेका थिए । केन्द्रीय प्रतिष्ठान निर्माणका लागि नेपाल सरकारबाहेक हालसम्मका केन्द्रीय सरकारले एकेडेमीका लागि खासै बजेट छुट्याएका छैनन् । विगतका दुई आवमा सरकारले प्रतिष्ठानलाई बजेट नै विनियोजन गरेन । जसले गर्दा निर्माण कार्य अगाडि बढ्न सकेन ।

हेटौंडामा खेलकुद प्रतिष्ठान निर्माण गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको थियो । राष्ट्रिय खेलकुद परिषदले प्रतिष्ठानको निर्माण कार्य प्राथमिकता सूचीमा नराखेकाले विगतका सरकारले बजेट विनियोजित नगरेको परिषदका एक सदस्यको गुनासो छ ।

उनले भने, ‘खेलकुद परिषदले प्राथमिकतामा राख्नेबित्तिकै सरकारले बाध्य भएर बजेट विनियोजत गर्नुपर्छ । तर त्यो हुन सकेन ।’ प्रतिष्ठानको गुरुयोजनाअनुसार पौडीपोखरी, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, औषधोपचार कक्ष, प्रशासनिक कक्ष, महिला तथा पुरुष छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, निर्माण गर्ने योजना छ । आजको कान्तिपुर दैनिकमा प्रताप बिष्टले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*