क्वात्राको नेपाल भ्रमणमा भारतको मुख्य दुई चासो

जनपत्र
४ फाल्गुन २०७९, बिहीबार ०७:५८

भारतले नेपालमा मुख्यतः दुई प्रमुख विषयमा चासो राखेको पाइएको छ। पहिलो राजनीतिक स्थायित्व र दोस्रो आर्थिक समृद्धि।

राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेतृत्वसँगको भेटमा भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पनि भारतले नेपालमा राजनीतिक स्थायित्व हेर्न चाहेको बताए। उनले त्यस क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र खस्किँदै गएको अर्थतन्त्रको विषयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूसँग छलफल चलाएका हुन्।

विदेशसचिव क्वात्राले नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेतासँग भेट गरेका थिए। ती भेटमा विदेशसचिव क्वात्राले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको विषयमा पनि चासो राखेको स्रोतले बताएको छ। उनले शीर्ष नेतृत्वसमक्ष भारतले नेपालको विकास र आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व होस् भन्ने चाहेको धारणा राखेका थिए।

कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटे पनि क्वात्राले सन्देश भने एउटै दिन खोजे। त्यो हो जो राष्ट्रपति बने पनि भारतलाई केही फरक पर्दैन तर भारत सधैं नेपालमा राजनीतिक स्थायित्व चाहन्छ। क्वात्राको भनाई उद्धृत गर्दै एक शीर्ष नेताले अन्नपूर्ण पोस्ट्सित भने, ‘नेपालका राजनीतिक दल र नेताहरूले मिलेर राष्ट्रपति छान्नुहोस्, तपाईंहरू सक्षम हुनुहुन्छ। नेपालमा स्थायित्व कायम गर्न भारतको सहयोग सदैव रहन्छ।’

नेपालको आन्तरिक राजनीतिक मामिलामा बेलाबेला हस्तक्षेप गर्ने गरेको आरोप भारतमाथि लागे पनि उसले त्यसलाई नकार्दै आएको छ। ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा भारतले अस्वाभाविक चासो राखेको छैन’, कांग्रेसका एक नेताले अन्नपूर्ण पोस्ट्सित भने, ‘विदेशसचिवको भ्रमण आर्थिक विकास र द्विपक्षीय हितमा केन्द्रित रह्यो।’

नेपालमा भारतीय राजदूतको जिम्मेवारी सम्हालिसकेका क्वात्राले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र त्यसका लागि अहिले भइरहेका सम्भावित समीकरणबारे चासो राख्नु स्वाभाविक भएको ती नेताको भनाइ छ। परराष्ट्रसचिवस्तरीय बैठकमा सहभागी हुन आएका क्वात्राले उनका समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग पनि द्विपक्षीय छलफल गरे।

क्वात्राले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग पनि भेट गरेका थिए। त्यस क्रममा समसामयिक राजनीति अवस्था र आर्थिक विकासबारे छलफल भएको नेता खाँणले बताए। अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा भारतलाई सहयोगका लागि आग्रह गरेको उनले सुनाए।

‘उहाँले नेपाल अति निकट छिमेकी देश भएकाले आर्थिक स्थायित्वमा सहयोग र सहकार्य निरन्तर रहने बताउनुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेपाल भ्रमणका क्रममा भएका प्रतिबद्घताअन्र्तगत लुम्बिनीको समग्र विकासका लागि आउने दिनमा थप सहयोग नेपालले अपेक्षा गरेको छ’, नेता खाणले भने, ‘नेपालको सधैं हित चाहने भन्दै राष्ट्रपति निर्वाचनबाट जनताले चाहेको सर्वस्विकार्य व्यक्तिलाई छान्न पनि आग्रह गर्नुभयो। कस्तो व्यक्ति छान्दा राम्रो हुन्छ भन्ने कुरामा नेपाल आपैmँ सक्षम छ भन्नुभयो।’

जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि क्वात्राको भेट भएको थियो। त्यस क्रममा नेपालको राजनीतिमा नयाँ व्यक्तिहरू नेतृत्वमा तहमा आएकामा क्वात्राले खुसी व्यक्त गरेको राउतले सुनाए। ‘नेपालमा नयाँ पार्टीहरू नेतृत्वमा आएका छन्।

नेपालले आर्थिक समृद्धि गर्ने बेला पनि यही हो। नयाँसँगै पुराना पार्टीहरू मिलेर नेपालकै हितमा आर्थिक क्रान्ति गर्नुपर्ने अवसर आएको छ। भारतको चाहना पनि नेपालमा दिगो सरकार, दिगो शान्ति चाहन्छ’, क्वात्राको भनाइ उद्धृत गर्दै राउतले भने, ‘त्यसो हुँदा सहकार्य र सहयोग पनि दिगो ढंगले हुन सक्छ। राष्ट्रपतिको निर्वाचनको विषय नितान्त नेपालको हो। कस्तो व्यक्ति छान्ने भन्ने विषयमा नेपाल स्वतन्त्र छ।’

क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयमा चासो राखेका थिए। यस्तै रक्सौल–काठमाडौ‍ं रेलवे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको थियो। उनले भनेका थिए, ‘नेपालको दिगो राजनीतिक भविष्यका लागि राष्ट्रपति निर्वाचन महत्वपूर्ण पाटो भएकाले सबैले विश्वास गर्ने र जनताले पनि विश्वास गर्ने व्यक्तिका नाममा राष्ट्रिय सहमति होस् शुभकामना छ।’

बोआओ सम्मेलनमा जानुअघि भारत भ्रमण
हाम्रा अधिकांश नेताले आफू प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारतमा गर्दै आएका छन्। माओवादी केन्द्रका अध्यक्ष दाहालले त प्रधानमन्त्री बनेपछि भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो विदेश भ्रमण भारतबाट हुने बताइसकेका छन्। विदेशसचिव क्वात्राले प्रधानमन्त्री दाहालसँगको भेटमा भारत भ्रमणका बेला छलफल हुन सक्ने सम्भावित विषय वस्तुबारे छलफल गरेको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ।

दाहाल प्रधानमन्त्री बनेपछि उनका भारतीय समकक्षी नरेन्द्र मोदीको बधाई सन्देश लिएर बालुवाटार पुगेका भारतीय राजदूत नवीन श्रीवास्तवले त्यही बेला भारत भ्रमणको निम्तो दिएका थिए। ‘आन्तरिक राजनीतिक व्यवस्थित नभइसकेकाले प्रधानमन्त्री दाहाल स्वयं राष्ट्रपतिको निर्वाचनअघि भारत जान चाहनुहुन्न। राष्ट्रपतिको निर्वाचनपछि उपयुक्त समय मिलाएर उहाँले भारत भ्रमण गर्नुहुन्छ’, माओवादीका एक नेताले भने।

भारतबाट फर्किएपछि प्रधानमन्त्री दाहाल बोआओ सम्मेलनमा भाग लिन चीन जानेछन्। चीनमा मार्च अन्तिम साता बोआओ सम्मेलन हुँदै छ। त्यसका लागि प्रधानमन्त्री दाहालले मार्च २० मा चीन भ्रमणको तयारी गरेका छन्। यद्यपि, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहाल बोओओ सम्मेलनमा सहभागी हुनेबारे केही बोलेको छ्रैन।

विकास साझेदारीमा चासो
क्वात्राको दुई दिने औपचारिक भ्रमणका क्रममा विकास साझेदारीलगायत विषयमा पनि छलफल भएको थियो। ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्धसहित भारत र नेपालबीचको बहुआयामिक सहयोगका विविध पक्षबारे कुराकानी भएको थियो।

दुवै देशका परराष्ट्रसचिवले प्रधानमन्त्रीको भ्रमणका क्रममा गत वर्ष गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको पनि समीक्षा गरेका थिए। गत वर्ष अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत् सहयोग, संस्कृति, व्यापार तथा वाणिज्यलगायत विविध क्षेत्रमा प्रतिबद्धता जनाइएको थियो।

रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने विषयमा समझदारी भएको छ। दुवै पक्षबीच ऊर्जा सहकार्यमा भएको प्रगतिको चर्चा चलेको थियो। जसअन्तर्गत नेपाल ४५२।६ मेगावाट विद्युत् भारततर्फ निर्यात गर्न सक्षम भएको जनाइएको छ। यसले भारतलाई बिजुली प्रदान गरेको छ भने नेपालमा थप राजस्व स्रोतको सिर्जना गरेको छ।

नेपालले दीर्घकालीन रूपमा भारततर्फ विद्युत् निर्यातका लागि मार्गप्रशस्त गर्न भारतीय पक्षसँग अनुरोध गरेको छ। भारत र नेपालबीच सन् २०२२ अप्रिलमा भएको ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक सहकार्यका हातेमालो गर्ने प्रतिबद्धता पनि जनाएका छन्। अन्नपूर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*