त्रिकोणीय सिरिज आजदेखि, जित्नै पर्ने दबाबमा नेपाल

जनपत्र
२ फाल्गुन २०७९, मंगलवार ०६:४९

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणीय सिरिज आजदेखि काठमाडौँमा शुरु हुदै छ ।

सिरिजको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुदै छ ।

आजदेखि हुने यो त्रिकोणीय सिरिज फागुन ९ गतेसम्म संचालन हुने छ । यस सिरिजमा तिनै टिमले एक अर्काविरुद्ध दुई दुई खेल खेल्ने छन् । नेपालले नामिबियाविरुद्ध आज र फागुन ६ गते खेल्ने छ भने स्कटल्याण्डविरुद्ध फागुन ५ गते र फागुन ९ गते खेल्ने तालिका रहेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल अहिले २४ खेल खेल्दै १८ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड अहिले ३२ खेलमा ४६ अंकसहित शिर्ष स्थानमा छ भने नामिबिया ३० खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

शिर्ष तीन स्थानमा रहने देश २०२३ मा हुने एकदिवसीय विश्वकपको क्वालिफायरमा छनौट हुने हुनाले नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण रहेको छ र नेपाल जित्नै पर्ने दबाबमा रहेको छ ।

नेपाल यस सिरिजमा नयाँ प्रशिक्षक मोन्टि देसाईको नेतृत्वमा खेल्दै छ । त्यस्तै विवादका बीच सन्दीप लामिछानेले पनि राष्ट्रिय टिममा कम्ब्याक गरेका छन् । नाबालिक बलात्कारको आरोप लागेर धरौटीमा छुटेका सन्दीपलाई टिममा समावेश गरेको भन्दै आमरुपमा विरोध भइरहेको बेला उनलाई राष्ट्रिय टिममा समावेश गरिएको छ ।

यस सिरिजमा खेल्ने टिममा कप्तान रोहित पौडेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप जोरा, भिम सार्की, ललित राजबंशी, सोमपाल कामी र सुर्य तामाङ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*