सहिद स्मृति कप आजदेखि

जनपत्र
२८ माघ २०७९, शनिबार ०७:५२

पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोगिता २०७९ आजदेखि हुने भएको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार सुरु हुने प्रतियोगितामा सात ‘ए’ डिभिजन क्लब, एउटा विदेशी र आयोजकसहित १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा र आयोजक मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा ‘ए’ डिभिजन टोली मनाङ मर्स्याङ्दी, फ्रेन्ड्स, हिमालयन शेर्पा, एनआरटी, सातदोबाटो, एपीएफ र त्रिभुवन आर्मी क्लब छन् । विदेशी क्लबमा एभिनियर एफसी क्यामरुन तथा आयोजक, वाग्मती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड र नव जनजागृति छन् ।

फागुन १० सम्म हुने प्रतियोगिता विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने एन्फा केन्द्रीय सदस्य तथा मकवानपुर अध्यक्ष टीका लामाले जानकारी दिए । उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई करिब ७ लाख रुपैयाँबराबरको बुलेट मोटरसाइकल प्रदान गरिनेछ । पछिल्लो दुई संस्करणबाट यस पुरस्कार राखिएको थियो । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख तथा जिल्लाका सबै स्थानीय तहबाट नगद सहयोग रहने अध्यक्ष लामाले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब एक करोड रुपैयाँभन्दा बढी खर्च अनुमान गरिएको छ । ‘प्रतियोगिताको तयारी सकिएको छ । देशभर धेरै स्थानमा फुटबल प्रतियोगिता भइरहेको छ । जसका कारणले गर्दा खेल तालिका सार्वजनिक गर्न धेरै समय लाग्यो,’ अध्यक्ष लामाले भने । ए डिभिजन लिगको तयारीमा रहेका क्लबहरूलाई यस प्रतियोगिताले थप सहज हुने बताए । प्रतियोगिताको गत संस्करण आर्मीले जितेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*