महिला टी-२० विश्वकप क्रिकेट आजदेखि सुरुहुँदै
आईसीसी महिला टी-२० विश्वकपको आठौं संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। उद्घाटन खेल राति पौने ११ बजेदेखि आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ।
१० टोलीको सहभागिता रहेको टी0२० विश्वकप दक्षिण अफ्रिकाको आयोजनामा हुँदैछ। १७ दिने प्रतियोगिताको फाइनल खेल २६ फेब्रुअरीमा केप टाउनमा हुनेछ। १० टोलीलाई ५-५ गरी दुई समूहमा विभाजन गरिएको छ। फागुन २१ गतेसम्म १० टोलीबीच समूह चरणका २० खेल हुनेछन्। समूह चरणका केही खेल साँझ पौने ७ बजे र केही राति पौने ११ बजे सुरु हुनेछन्।
दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्। फेब्रुअरी २३ र २४ का दुवै सेमिफाइनल र त्यसपछि फाइनल २६ फेब्रुअरीमा केप टाउनको न्युल्यान्ड्स मैदानमा हुनेछ। सबै नकआउट खेलहरू साँझ पौने ७ बजे सुरु हुनेछन्।
समूह-१ मा ५ टोली र बाँकी ५ टोली समूह-२ मा परेका छन्।
भारत समूह-२ मा एक पटकको च्याम्पियन इंग्ल्याण्ड र वेस्ट इन्डिजसँग छ। यो समूहमा पाकिस्तान र आयरल्याण्ड पनि छन्। यस्तै, डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया समूह(१ मा बंगलादेश, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका छ।
महिला टी-२० विश्वकप पहिलो पटक २००९ मा खेलिएको थियो। इंग्ल्याण्डमा भएको यो प्रतियोगिता आयोजक इंग्ल्याण्डले जितेको थियो। सन् २००९ पछि सन् २०१० मा भएको प्रतियोगिता अष्ट्रेलियाले जितेको थियो। त्यसयता प्रत्येक २ वर्षमा प्रतियोगिता खेलाइन्छ। पछिल्लो प्रतियोगिता सन् २०२० मा अस्ट्रेलियामा खेलिएको थियो। अष्ट्रेलियाले जितेको थियो।
अष्ट्रेलियाको महिला टोली टी-२० विश्वकपको इतिहासमा सबैभन्दा सफल टोली हो। टोलीले ७ मध्ये ५ पटक उपाधि जितेको छ। सन् २०१०, २०१२ र २०१४ मा उपाधिको ह्याट्रिक गरेपछि सन् २०१८ र २०२० मा पनि उपाधि जितेको थियो। गत प्रतियोगितामा भारतलाई पराजित गर्दै टोली च्याम्पियन बनेको थियो।
अस्ट्रेलिया बाहेक इंग्ल्याण्डले सन् २००९ मा र वेस्ट इन्डिजले २०१६ मा एक-एक पटक उपाधि जितेको थियो। यी टोलीबाहेक न्युजिल्यान्ड २ पटक र भारतको टोली १ पटक उपविजेता बनेका छन्। दक्षिण अफ्रिकाको टोली धेरै पटक सेमिफाइनलमा पुगेको छ। श्रीलंका, पाकिस्तान, बंगलादेश र आयरल्यान्डका टोली भने विश्वकपमा समूह चरणभन्दा अगाडि बढ्न सकेका छैनन्।