साफ यू–२० महिला च्याम्पियनसिपः उपविजेतामा सीमित भयो नेपाल
ढाका– साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ ।
ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ । बंगलादेश भने अपराजित रहँदै च्याम्पियन बनेको छ ।
बंगलादेशको जीतमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक–एक गोल गरे । खेलको ४२ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफको इञ्जुरी समयमा शामसुनाहरले गोल गर्दै बंगलादेशको अग्रता २–० बनाइन् । त्यसपछि खेलको ८७ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशको जीत पक्का गरिन् ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।
चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो ।
लिग चरणमासमेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाललाई बंगलादेशले ३–१ कले हराएको थियो । नेपाल सन् २०१८ को उपविजेता टोली हो । बंगलादेश भने सन् २०१८ र २०२१ पनि च्याम्पियन टोली हो ।
नेपालले साफ महिला फुटबलको कुनैपनि स्तरको प्रतियोगिता हालसम्म जित्न सकेको छैन ।
सिनियर साफ महिला च्याम्पिनयसिपका सबै ६ संस्करणमध्ये पाँचवटामा फाइनलमा पराजित भएको थियो भने दक्षिण एसियाली (साग) अन्तर्गत महिला फुटबलका सबै तीन संस्करणमा उपविजेतामा सिमित भएको थियो ।
उमेरस्तरतर्फ सन् २०१८ मा आयोजना भएको पहिलो साफ यू–१८ महिला च्याम्पियनसिपमा फाइनलसम्म पुगेपनि बंगलादेशले उपाधि जित्नबाट रोकेको थियो ।
पछिल्लो समय बंगलादेश दक्षिण एसियाली महिला फुटबलमा लगातार हावी भइरहेको छ ।
बंगलादेशले सिनियर साफ महिला च्याम्पियनसिपमा भारतको लगातारको दबदबा गत वर्ष तोडेको थियो । सन् २०२१ मा बंगलादेशले साफ यू–१९ महिला च्याम्पियनसिपको पनि उपाधि जितेको थियो ।
यसपटक घरेलु टोली प्रतियोगितामा सुरुवातबाटै हावी देखिएको थियो । पहिलो खेलमा नेपाललाई तीन–एक गोलले हराएको बंगलादेशले दोस्रो खेलमा भारतसँग गोलरहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा भुटानलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।