लिभरपुल वुल्भ्ससँग पराजित, दश खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेडको कठिन जित

जनपत्र
२२ माघ २०७९, आईतवार ०७:४२

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल वुल्भ्ससँग पराजित भएको छ। मोलिनेउक्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वुल्भ्सले लिभरपुललाई ३(० गोलअन्तरले हराएको हो।

खेलको पाँचौँ मिनेटमै लिभरपुलका जोएल मटिपले आत्मघाती गोल गर्दा घरेलु टोलीले अग्रता बनाएको थियो। त्यस्तै १२ औं मिनेटमा क्राइज डाउसनले अग्रता दोब्बर बनाए। दोस्रो हाफमा फेरि वुल्भ्सले अर्को गोल थप्यो। यसपटक रुबेन नेबेसले ७१ औं मिनेटमा गोल थप्दै आफ्नो टोलीलाई सहज जिततर्फ डोहोर्‍याए। अर्कोतर्फ खेलमा अधिकांश समय पकड बनाएर राम्रा अवसरहरु बनाए पनि पनि लिभरपुलले गोल फर्काउन सकेन।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको युनाइटेडले प्यासेलसमाथि २(१ गोलको जित निकालेको हो।

खेलको सातौँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गरेर ब्रुनो फर्नान्डेजले युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अग्रता बनाएको युनाइटेडका लागि दोस्रो गोल मार्कस रासफोर्डले गरे। उनले खेलको ६२ औं मिनेटमा लुक श को पासमा गोल फर्काए। तर, ७० औं मिनेटमा कासेमिरो रेडकार्ड खाँदै बाहिरिँदा युनाइटेड १० खेलाडीमा समेटियो। ७६ औं मिनेटमा जेफ्रे स्कुल्पले गोल फर्काए। तर, खेलमा फर्कन उनको गोल पर्याप्त रहेन। र, युनाइटेडले खेल २(१ गोलले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै २१ खेलबाट ४२ अंक जोडेको युनाइटेड अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानको म्यानचेस्टरसिटीको ४५ र शीर्ष स्थानको आर्सनलको ५० अंक छ। त्यस्तै लिभरपुल २९ अंक जोडेर १० औं स्थानमा रहँदा क्रिस्टल प्यालेस २४ अंक जोडेर १२ औं स्थानमा छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*