घरेलु उद्योगहरुका उत्पादनलाई विज्ञान र प्रविधि संग जोड्नुपर्छ –मन्त्री नेपाल
हेटौंडा । ३ नम्बर प्रदेश सरकारको सहयोगमा भक्तपुरको दत्तात्रयमा निर्मित कोसेली घरको आज उद्घाटन गरिएको छ । मंगलबार प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले कोसेली घरको उद्घाटन गर्नुभएको हो ।
कोसेली घरको उद्घाटन गर्दै मन्त्री अरुण नेपालले घरेलु उद्योगहरुको प्रवद्धर्न गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । घरेलु उद्योगहरुका उत्पादनलाई विज्ञान र प्रविधिका उपयोग गर्दै अन्तराष्टिय स्तरमा बिक्रि गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालीमा आफैंभित्रको पछौटेपन रहिरहेको भन्दै उहाँले समृद्धिका लागि आफुभित्रको फछौटेपन हटाउनुपर्नेमा आम नागरिकलाई सुझाउनुभयो ।
‘हामीसँग के क्षमता छ त्यो अर्कैले भन्दिनुपर्ने अवस्था रहेसम्म समृद्धि आउँदैन’, मन्त्री नेपालले भन्नुभयो, ‘जव हामीले आफैंभित्रको क्षमता बुझ्नथाल्छौं, त्यही दिन समृद्धिको यात्रा सुरु हुन्छ ।’ दत्तात्रयको कोसेली घर निर्माणका लागि प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १९ लाख रुपियाँ सहयोग गरेको थियो । मंगलवार कोसेली घर उद्घाटन समारोहमा प्रदेश सांसद प्रतिमा श्रेष्ठ,घरेलु तथा साना उद्योग विकास समितिका केन्द्रिय अध्यक्ष लगायतको उपस्थिती थियो ।
कोसेली सञ्चालनमा आएसँगै यहाँका घरेलु तथा साना उद्योगी व्यवसायी उत्साहित छन्। कोसेली घरमा भक्तपुरको परिचय बनेका एवं मौलिक उत्पादन काष्ठकला, नेपाली कागजका हस्तकला, नेवारी घरबुना कपडाका पुतली, खेलौना, हाकुपटासी, भादगाउँले कालो टोपी, टाइचिन चिउरा बिक्री वितरणका लागि राखिएका छन्।
त्यस्तै धातु तथा ढलौटका कलाकृति, चित्रकला, भोजपुरे खुकुरी, मुकुन्डो, माटोबाट बनेका क्युरियो सामग्रीसमेत कोसेलीघरमा राखिएका छन्। कोसेली घरमा यहाँका मौलिक एवं परम्परागतसँगै ६० थरि स्थानीय उत्पादन राखिएको संघका अध्यक्ष जतीले जानकारी दिए।
संघका अनुसार कोसेली घर सञ्चालन गर्न प्रदेश नम्बर ३ सरकारअन्तर्गतको पर्यटन विकास आयोजनाबाट १९ लाख रुपैयाँ आर्थिक अनुदान प्राप्त भएको थियो। त्यस्तै संघको तर्फबाट थप १२ लाख रुपैयाँ खर्च गरिएको छ।