अपूर्ण तयारीमै नेपाल टी–२० लिग

कमजोर तयारीका कारण नेपाल टी–२० लिगको आयोजना पुनः एक दिन पछाडि धकेलिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग शुक्रबारदेखि सुरु हुने भनिएको थियो ।
तर अपूर्ण तयारीका कारण प्रतियोगिता एक दिन पछाडि धकेलिएर शनिबार सुरु हुने क्यानले जनाएको छ । यसअघि सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म डबल राउन्डमा हुने भनिएको लिग डिसेम्बर १० देखि हुने गरी सारिएको थियो । त्यसपछि पुनः डिसेम्बर २३ देखि सुरु हुने भनिएको प्रतियोगिता बिहीबार एक दिन पछाडि सारिएको छ । यो चौथो पटक सरेको हो ।
पछिल्लो निर्धारित तालिकाअनुसार लिग सुरु हुने एक दिनअघि क्यानले ‘प्राविधिक कारण’ देखाउँदै एक दिन पछाडि धकेलेको छ । क्यानको साझेदार सेभेन थ्री स्पोर्टसहित केही फ्रेन्चाइज टिम नेपाली कानुनअनुसार दर्ता नभएको, विदेशी खेलाडीले श्रम स्वीकृति नलिएको, खेलाडीको पारिश्रमिक तथा क्यानले सेभेन थ्री स्पोटर््सबाट पाउनुपर्ने रकमको निश्चितता नहुँदा नेपाल टी–२० लिगको आयोजना यस पटक पनि अन्योल नै बनेको थियो ।
सेभेन थ्री स्पोर्ट्सले तीन दिनअघिमात्र दर्ता प्रक्रिया सुरु गरेको जनाइएको छ भने केही फ्रेन्चाइज टोली अझै दर्ता प्रक्रियामा रहेका छन् । काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फारवेस्ट युनाइटेड र पोखरा एभेन्जर्सले नेपाल टी–२० लिगमा प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडौं गोर्खाजले नेपाल टी–२० लिगबाट आफ्नो नाम फिर्ता लिएपछि नाइट्स आएको थियो ।
प्रतियोगिता आयोजनास्थल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्रान्डिङका हिसाबले उजाड देखिएको, टेलिभिजन ब्रोडकास्टको ठेगान नभएको, प्राविधिकतर्फ नेपालका अम्पायरहरूलाई कुनै खबर नभएको लगायतले गर्दा प्रतियोगिता समयमै नहुने निश्चित देखिएको थियो । लुम्बिनी अल स्टार्सले बुधबार आफ्नो टिम लन्च गर्दा यसका मालिकमध्ये एक सञ्जय शर्माले आफूहरू खेल्नलाई पूरा तयार भइसकेको र बाँकी जिम्मा क्यान र सेभेन थ्री स्पोटर््सको रहेको जनाएका थिए ।
सेभेन थ्री स्पोटर््सले ८ वर्षका लागि क्यानलाई ३३ करोड रुपैयाँ दस्तुर बुझाउँदै आयोजनाको अधिकार लिएको थियो । त्यसअनुरुप पहिलो वर्ष ४ करोड १२ लाख ५० हजार क्यानले पाउने छ । सेभेन थ्रीले त्यसबाहेक त्रिवि क्रिकेट मैदानको स्तरोन्नति पनि गर्ने जनाइएको थियो । सम्झौता भएपछि १५ प्रतिशत, अर्को १५ प्रतिशत त्यसको ४५ दिनपछि र बाँकी ७० प्रतिशत प्रतियोगिता सुरु हुनु अघिल्लो दिनसम्म सेभेन थ्रीले क्यानको खातामा रकम जम्मा गर्नुेपर्ने थियो । तर, बिहीबारसम्म क्यानको खातामा १ करोड २० लाखमात्र जम्मा भएको बताइएको छ । आफ्नो खातामा रकम जम्मा नभएसम्म प्रतियोगिता हुन नसक्ने क्यानकै एउटा समूहले अडान राखेपछि नेपाली क्रिकेटको संस्थापन पक्षभित्रै दुई गुट बनेको थियो । नेपाल टी–२० लिगको आयोजनामा अन्योल भएपछि क्यान पदाधिकारी सम्पर्कबाहिर थिए । तर क्यान र सेभेन थ्री स्पोटर््सबीच बिहीबार भएको सहमतिअनुसार ७२ घन्टाभित्र सेभेन थ्रीले क्यानको खातामा बाँकी रकम भुक्तानी गर्ने वचनबद्धता जनाएको छ ।
नेपाली खेलाडीतर्फ समूह ‘ए’ मा रहेकाको १५ लाख, समूह ‘बी’ मा रहेकाको १० लाख र समूह ‘सी’ मा रहेकाको ५ लाख पारिश्रमिक रकम तोकिएको छ । त्यस्तै विदेशी खेलाडीको हकमा समूह ‘ए’ मा रहेकाले ४० हजार डलर, समूह ‘बी’ मा रहेकाले २० हजार र ‘सी’ मा रहेकाले १२ हजार ५ सय डलर पारिश्रमिक पाउने प्रावधान थियो । प्रतियोगिता सुरु हुनु २४ घन्टाअगाडि बैंकमार्फत ४० प्रतिशत रकम खेलाडीको खातामा भुक्तानी हुनुपर्ने प्रावधान रहेकामा बिहीबारसम्म कुनै पनि टोलीले खेलाडीको बैंक खातामा रकम जम्मा गरेका छैनन् ।
क्यानको एउटा पक्षले खेलाडीको रकम पनि सुनिश्चित नभएसम्म लिग आयोजना हुन असम्भव रहेको जनाएका थिए । बिहीबारको बैठकपछि शुक्रबारसम्म खेलाडीको पारिश्रमिकको ४० प्रतिशत रकम उनीहरूको खातामा जम्मा गर्ने आश्वासन क्यानले पाएपछि लिग एक दिन ढिला भए पनि गर्ने निर्णयमा पुगेको एक पदाधिकारीले बताए ।
धेरै टोलीका विदेशी खेलाडी नेपाल आइसकेको अवस्थामा लिग एक दिन स्थगित हुन पुगेको छ भने आयोजनाको अन्योलतालाई लिएर फ्रेन्चाइज टोलीहरूले आउन बाँकी विदेशी खेलाडीलाई पर्ख र हेरको अवस्थामा उनीहरूकै देशमा राखेका छन् । जसका कारण शनिबार लिग सुरु भएमा केही टोलीका केही विदेशी खेलाडीले सुरुआती खेलहरू गुमाउने छन् । काठमाडौं आइसकेका विदेशी खेलाडीको पनि सोमबारसम्म श्रम स्वीकृति आउने क्यानको अपेक्षा छ । यसो हुँदा उपलब्ध विदेशी खेलाडीले पनि सुरुआती खेल गुमाउन सक्ने देखिन्छ । साथै केही टोलीका जर्सीसमेत आइपुग्न बाँकी रहेको जनाइएको छ ।
क्यान र सेभेन थ्री स्पोर्ट्सको आयोजना तयारी कतिसम्म कमजोर देखिन्छ भने लिग हुने भनिएको एक दिनअघि क्यानका जनरल म्यानेजर वृतान्त खनाललाई नेपाल टी–२० लिगको प्रतियोगिता निर्देशक रूपमा नियुक्ति गरेको जनाएको छ ।इकान्तीपुरबाट ।