बन्दी फरार भएपछि प्रहरी जवानको जागीर चैट

खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट तीन जना बन्दी नाटकीयरुपमा फरार भएपछि प्रहरी जवान शम्शेर थापामगरलाई निलम्बन गरिएको छ । घटनाका समयमा थापामगर हिरासतको सुरक्षामा खटिएका थिए ।
शनिबार मध्यरातमा शौचालयको झ्याल फोडेर सार्वजनिक सुरक्षा अपराधअन्तर्गत पक्राउ परेका खजुरा–३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषधसहित पक्राउ परेका स्थानीय सिमन विक छन् । उनीहरु ११ फिट अग्लो हिरासतमा रहेको फलामे झ्याल फोडेर भागेका थिए ।
दुई दिनअघि मात्र पक्राउ परेका विकसँग प्रहरीले लागुऔषध ब्राउनसुगर बरामद गरेकाले आइतबार म्याद थप गराएर थप अनुसन्धान गर्ने प्रक्रियामा थियो भने यही असार २३ गते पक्राउ परेका थापा र कार्कीको पाँच दिनका लागि म्याद थप गरिएको थियो । भाग्ने तीनै जना २० वर्ष भन्दा कम उमेरका रहेका प्रहरीले जनाएको छ ।