विश्वकप फुटबलः नकआउट चरणमा भिड्ने चार देश तय
फिफा विश्वकप फुटबल– २०२२ अन्तर्गत नकआउट चरणका दुई खेलमा भिड्ने चार देशको टुंगो लागेको छ ।
समुह चरणका खेल अन्तर्गत समुह एक तथा बीका खेलहरु मंगलबार राति सम्पन्न भएलगत्तै नकआउट चरणका दुई खेल खेल्ने चार देशको टुंगो लागेको हो ।
मंगलबार भएका खेलहरुमध्ये समूह ए मा रहेका नेदरल्यान्ड्स र सेनेगलले आ–आफ्नो खेल जित्न सफल भए । यो संगै यी दुबै टोली अन्तिम १६ मा प्रवेश गर्न सफल भएका छन् ।
त्यस्तै समूह बी बाट पनि इङ्ल्याण्ड तथा अमेरिकाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।
मंगलबार भएको खेलमा नेदरल्याण्ड्सले कतारलाई २–० ले पराजित गर्दै समूह विजेता बन्न सफल भयो । योसंगै नेदरल्याण्ड्सडच टोली ३ खेलमा ७ अंक जोड्दै समुह चरणमै अपराजित रह्यो ।
मंगलबारकै अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ को पराजित गर्दै समुहको उपविजेता बन्यो । सेनेगल ६ अंकका साथ बटुल्दा इक्वेडर ४ अंक जोड्दै तेस्रो र कतार अंक बिहिन बन्न पुग्यो ।
मंगलबार मध्यराति भएको समूह बीको खेलमा इङ्ल्याण्डले वेल्सलाई निराश बनायो । यो खेलमा ३–० को जीत हासिल गर्दै इङ्ल्याण्डले तीन खेलमा ७ अंक जोड्न सफल भयो । यो अंकसहित इङ्ल्याण्ड समुह विजेतासमेत बन्यो । यो नतिजाले इङ्ल्याण्डलाई पनि अन्तिम १६ मा पुर्याएको छ ।
मंगलबार रातिकै चौथो खेलमा अमेरिकाले इरानलाई हरायो । यो नतिजालसंगै अमेरिका पनि अपराजित रहेर नकआउट चरणमा पुग्न सफल भयो । अमेरिकाले तीन खेलमा ५ अंक जोड्न सफल भयो । यो समुहबाट इरान ३ अंकसहित तेस्रो तथा वेल्स एक अंकसहित चौथो स्थानमा रहन बाध्य भए ।
यो संगै नकआउट चरणमा अब नेदरल्यान्ड्स र अमेरिकाबीच खेल हुनेछ भन इङ्ल्याण्डले सेनेगलको रुपमा प्रतिद्वन्दी पाएको छ ।






