घानालाई हराउँदै पोर्चुगलको विश्वकपमा विजयी सुरुवात
उपाधि दाबेदार पोर्चुगलले विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।
स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३(२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेको हो।
कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानामाथि संघर्षपूर्ण जित निकालेको हो।खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो।
खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो। जसमा रोनाल्डोले सहजै गोल गरे।
यस गोलसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए। ३७ वर्षीय रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए।
खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले गोल गर्दै घानालाई १(१ गोलको बराबरीमा ल्याए। तर, ७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २(१ को अग्रता दिलाए। खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३९१ ले अघि रह्यो। त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३(२ ले विजयी भयो।






