भारतीय बाँधले नेपाली बस्ती डुबानमा

सप्तरी, रौतहट, पर्सा, बारा र बाँकेका सीमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँधलगायत संरचना र निकासमा पुर्याइएको अबरोधले नेपाली भूभाग डुबानमा परेको छ। भारतीय पक्षले सप्तकोसीको बहाबलाई नियोजित रुपमा पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । कोसीको पानी बस्तीमा पसेपछि करिब ३ सय घरपरिवार विस्थापित भएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
कोसीको जलस्तर बढ्ने क्रम जारी रहेकाले ब्यारेजदेखि रम्पुरा मल्हनियासम्म १८ किलोमिटर नेपाली भूभागमा रहेको पश्चिमी तटबन्धमा जोखिम बढेको छ। तटबन्ध नाघेर वा कटान भएर कोसीको पानी बस्तीमा पस्यो भने हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकाका गरी पाँच लाखभन्दा बढी जनताको उठिबास हुने हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले बताए।