अनुसंन्धानका बिषय समेटिएको सम्मेलन दस्तावेज (प्रोसिडिङ) तयार

हेटौंडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विभिन्न अनुसंधानका विषय समेटिएको दस्तावेज तयार पारेको छ । मन्त्रालयले राष्टिय युवा वैज्ञानीक सम्मेलन र सार्क स्तरिय युवा वैज्ञानीक सम्मेलनमा प्रस्तुत भएका अनुसन्धानका विषयलाई समेटेर दस्तावेज (प्रोसिडिङ) तयार पारेको हो ।
मन्त्रालयले अग्रेजी भाषामा दुईवटा किताब तयार पारेको हो । अनुसंधानका ५० वटा विषयहरु समेटेर सार्क स्तरिय युवा वैज्ञानीक सम्मेलनको (प्रोसिडिङ) तयार पारिएको मन्त्रालयका विज्ञान, वातावरण तथा जलवायु परिवर्तन महाशाखा प्रमुख रघुराम पराजुलीले बताउनुभयो । यसरी नै राष्टिय युवा वैज्ञानीक सम्मेलनमा प्रस्तुत भएका करिब २ सय ५० प्रोजेक्टहरु समेटेर सम्मेलनको (प्रोसिडिङ) प्रकाशनको अन्तिम चरणमा रहेको पराजुलीले बताउनुभयो ।
सम्मेलनमा युवा वैज्ञानिकहरुबाट प्रस्तुत भएका भएका अनुसंधानका बिषयलाई नीति तथा योजनामा पृष्ठपोषणको रुपमा समेट्न सकिएमा सार्थकता हुने समेत उहाँले बताउनुभयो । बैज्ञानिक संस्कार र सहकार्यलाई प्रोत्साहित गर्दै विद्यालय तहका विद्यार्थीहरूका साथै विश्वविद्यालय स्तरका युवा शोधकर्ताहरू र विज्ञान, प्रविधि र इनोभेसनका बिभिन्न गतिविधिहरूमा लागि परेका सिर्जनशिल तथा स्वप्नशिल युबाहरुको प्रतिभालाई देशको समृद्धिको सपनासंग जोड्नको लागि यस्ता सम्मेलनहरु महत्वपूर्ण हुने उहाँको निष्कर्ष छ ।
प्रदेश स्थापना भएको पहिलो वर्षमै दुई दुई वटा युवा वैज्ञानीक सम्मेलनहरु आयोजना गर्न प्रदेश नम्बर ३ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सफल भएको छ । दुई दुई दिन सम्म चलेका यी सम्मेलनहरु त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी सञ्चालन गरिएको थियो । जसमा राष्टिय युवा वैज्ञानीक सम्मेलन व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र सँगको समन्वयमा कार्यान्वयन गरिएको र सार्क स्तरिय युवा वैज्ञानीक सम्मेलन त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, कीर्तिपुरसँगको समन्वयमा गरिएको थियो । यी सम्मेलनको सफल कार्यान्वयनले त्रिभुवन विश्वविद्यालयसँगको विज्ञान तथा प्रविधि क्षेत्रमा भावी दिनमा पनि सहकार्यको ढोका खोलेको महाशाखा प्रमुख पराजुलीले बताउनुभयो ।