गोलकिपर डी गाले विश्वकप गुमाउने, स्पेनको सम्भावित टिममा परेनन्
स्पेनका चर्चित गोल किपर डेभिड डी गाले कतार विश्वकप गुमाउने भएका छन् ।
म्यानचेस्टर युनाइटेडका प्रमुख गोल किपर डेभिडलाई स्पेनको राष्ट्रिय टिमका प्रशिक्षक लुइस एनरिकले विश्वकपको सम्भावित ५५ खेलाडीको सूचीमा नराखेपछि डेभिड कतार विश्वकप नखेल्ने भएका हुन् ।
उनी २०२० देखि नै स्पेनको राष्ट्रिय टिमका लागि खेलेका थिएनन् ।
आफ्नो ५५ खेलाडीको सूचीमा प्रशिक्षक लुइसले तीन प्रिमियर खेल्ने गोलकिपरलाई समावेश गरेपनि डेभिडलाई नजरअन्दाज गरेका हुन् ।
उनले यस सूचीबाट विश्वकप खेल्ने २६ अन्तिम खेलाडी चयन गर्ने छन् ।
कतार विश्वकपमा स्पेनका लागि तीन गोलकिपर छनौट हुने सम्भावना रहेको स्पेनिस मिडिया एएसले उल्लेख गरेको छ । जसमा एथलेटिक बिल्बाओबाट खेल्ने उनाइ सिमोन, ब्राइटनका रोबेर्ट सान्चेज र ब्रेंटफोर्डका डेभिड राया सबैभन्दा अगाडी रहेका छन् ।
त्यस्तै चेल्सीबाट खेल्ने केपा अरीजाबालागा र गेटाफेबाट खेल्ने डेभिड सोरियालाई ब्याकअप गोलकिपरको रुपमा राखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
उनी स्पेनको राष्ट्रिय टिममा गत बर्ष नोभेम्बरमा विश्वकप छनौट खेल अन्तर्गत स्विडेनविरुद्धको खेलमा रहेपनि बेन्चमै बसेका थिए ।
३१ बर्षिय डेभिड २०२० मा नेसन्स लिग अन्तर्गत युक्रेनविरुद्धको खेलमा पुरा ९० मिनेट खेलेपछि राष्ट्रिय टिमका लागि खेलेका छैनन् । सो खेलमा स्पेन १-० गोल अन्तरले पराजित भएको थियो । उनले स्पेनका लागि अहिलेसम्म ४५ खेल खेलेका छन् ।






