साढे ६ सय खेलाडी घाइते

जनपत्र
३ कार्तिक २०७९, बिहीबार ०७:५२

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान विभिन्न खेलका साढे ६ सयभन्दा बढी खेलाडी घाइते भएका छन्। नवौं राष्ट्रिय खेलकुद सुरु भएपछि बुधबार दिउँसोसम्म ६ सय ४७ जना खेलाडी घाइते भइसकेको स्वास्थ्य उपसमिति सचिवालयका डा। हेमनाथ आचार्यले जानकारी दिए।

उनले धेरैजसो खेलाडीमा सफ्ट टिस्यु इन्जुरी, फ्याक्चर र डेंगुको संक्रमण रहेको बताए। ‘मेडिकल सेन्टरमा आउने अधिकांश खेलाडीमा सफ्ट टिस्यु इन्जुरी, फ्याक्चर र डेंगुको संक्रमण पाइएको छ’, डा। आचार्यले भने, ‘अहिलेसम्म एक सय ३० जनालाई विभिन्न अस्पतालमा रेफर गरेका छौं भने चार जनाको जटिल शल्यक्रिया नै गरिएको छ।’ शल्यक्रिया गरेका चार जना खेलाडीमध्ये एक दुई जनाको क्लाभिकल इन्जुरी र अन्य दुईको फ्याक्चर रहेको उनले जानकारी दिए।

उनले पोखरा आसपासमा रहेका खेलाडी मात्रै मेडिकल सेन्टरमा आएको बताउँदै बाहिरी जिल्लामा भएका खेलाडीको तथ्यांक नभएको बताए। ‘हामीसँग पोखरामा भएका खेल र मेडिकल सेन्टरमा आएका खेलाडीको मात्रै तथ्यांक छ। बाहिरी जिल्लाका समेत गणना गर्ने हो भने घाइते खेलाडीको संख्या अझै बढ्न सक्छ’, उनले भने, ‘कतिपय खेलाडीले आफै पनि उपचार गराइरहेको पाइएको छ।’

पोखरा रंगशालामा रहेको स्वास्थ्य उपसमितिको मेडिकल सेन्टरमा आउने अधिकांश ह्यान्डबल, रग्बी, जुडो, फुलकन्ट्याक्ट कराते, कबड्डी, उसु, बक्सिङ, खोखो, एथलेटिक्स, भारोत्तोलन, भलिबललगायतका खेलका खेलाडी रहेको डा। आचार्यले बताए। ‘मेडिकल सेन्टरमा आउने खेलाडीको संख्या दिनहुँ बढिरहेको छ’, डा। आचार्य भन्छन्, ‘हामीले यहाँ उपचार गर्न सक्नेलाई यहीं गछौं। यहाँ सम्भव नभएकालाई अस्पतालहरूमा रेफर गछौं।’

उनी नियमित प्रशिक्षणको अभाव, खेल मैदान, लगाउने पोसाक र अनुशासनका कारण पनि घाइते र विरामी हुन खेलाडीेको संख्या बढिरहेको बताउँछन्। ‘प्रतियोगिताका लागि खेलाडीले राम्रोसँग प्रशिक्षण नै गर्न पाएका छैनन्। २–४ दिनको सामान्य तयारी गरेर खेल्न आएको पाइएको छ। त्यसमाथि खेल मैदानको अवस्था पनि ठिक छैन’, डा। आचार्य भन्छन्, ‘त्यहीं कारण खेलाडी घाइते हुने संख्या ह्वात्तै बढेको हो।’ उनले खेलाडीहरू आधा लुगा लगाएर हिंड्ने गरेका कारण डेंगुको संक्रमणमा पर्ने गरेको बताए।

खेलकुद विज्ञ सुशीलनरसिंह राणाले नियमित प्रशिक्षण र फिटनेसको कमीका कारण खेलाडीहरू अत्याधिक घाइते भएको बताए। ‘घाइते हुनुको मुख्य कारण फिटनेस हो। नवौं राष्ट्रिय खेलकुदमा सहभागी अधिकांश खेलाडीले प्रशिक्षण नै गर्न पाएका छैनन्। प्रशिक्षण नभएपछि फिटनेस हुँदैन’, उनी भन्छन्, ‘आक्कलझुक्कल प्रतियोगिता खेल्दा यस्तो समस्या आउँछ। यसलाई हामीले नौलो मान्नु पर्दैन।’ उनी खेलाडीको नियमित प्रशिक्षण हुनुपर्ने र ठूला प्रतियोगिताअघि कम्तीमा ६ महिनाको विशेष प्रशिक्षण हुनुपर्ने बताउँछन्। अन्नपुर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*