८ जनाको हत्या आरोपी नसीममाथि १ सय १७ वर्ष जेल सजाय

कपिलवस्तु प्रहरीका अनुसार नसीममाथि ८ जनाको हत्याको आरोप छ। उनले २०६३ जेठ १९ मा कपिलवस्तु फुलिका–३ बस्ने धर्मराज बरईका छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरे। २०६४ फागुन ६ गते कपिलवस्तु साविक मोतीपुर गाविस–१ का माओवादी कार्यकर्ता भुवन भन्ने प्रेम परियारलाई गोली हानी हत्या गरे। २०६४ चैत ९ गते कपिलवस्तु हथिहवा ३ का रामहर्षप्रसाद कुर्मीका छोरा शिवपुजन कुर्मीलाई बाटोमा हिँडिरहेको बेलामा गोली हानेर हत्या गरे। कुर्मी माओवादी कार्यकर्ता थिए। २०६५ भदौ ३० गते कपिलवस्तु नगरपालिका–१० तौलिहवाका नसिबुल्लाह मुसलमान र स्थानीय पारसान कोहारकी श्रीमती अकला कोहारलाई गोली हानेर हत्या गरे।
२०६५ साल कात्तिक ९ मा कपिलवस्तु नगरपालिका ७ बस्ने साविक पिपरा गाविसका सचिव राममिलन प्रसाद गुप्तालाई गोली हानेर हत्या गरे। २०६७ वैशाख १३ गते कपिलवस्तु साविक पकडी–६ का माओवादी कार्यकर्ता राजेन्द्रप्रसाद तिवारीको हत्या गरे। निरन्तर हत्याआतंक मच्चाइरहेका नसीमले स्थानीय चुनावको रिस फेर्न २०७४ फागुन ३ मा कपिलवस्तुकै मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ वर्षका छोरा मोहम्मद आयमानको अपहरण गरे।
वडामा आफूले भनेअनुसारको काम गर्न वडाध्यक्षले रोक्ने आशंकामा धम्की दिन छोराको अपहरण गरेका उनले ५ वर्षे बालकको निर्मम हत्या गरे। बालकको शव अपहरणको तीन दिनपछि खानको घर पछाडि फेला परेको थियो। यी सबैको प्रहरीमा जाहेरी दिएर अदालतमा पुगिसकेको थियो। धेरैजसो मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुलतबीमा रहेका छन्। यी घटनामा खाँ आफै संलग्न रहेको र सहयोग गरेको भन्दै कपिलवस्तु जिल्ला अदालतले २०६९ सालमा १ सय १७ वर्षको जेल सजाय सुनाएको थियो। डाँका मुद्दामा २०७२ फागुन ४ मा १ लाख ९१ हजार ८ सय ५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय तोकेको थियो।