तनावग्रस्त खेलमा नेपाल बंगलादेशसँग पराजित

जनपत्र
३ आश्विन २०७९, सोमबार ०७:१९

नेपाली युवा टिम एएफसी यू–२० च्याम्पियनसिप फुटबल छनोटको आफ्नो अन्तिम खेलमा पनि पराजित भएको छ । आइतबार राति भएको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको हो ।

समूह ‘बी’ मा रहेको नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले हारेको थियो । त्यसपछि कतारसँग ३–१ ले हारेको नेपाल बहराइनसँग ६–० गोलले हारेको थियो ।

बंगलादेशसँग पराजित हुने क्रममा नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा थप एक गोल खान पुग्यो । निकै तनावग्रस्त बनेको खेलमा नेपालका कप्तान आयुष घलान र अजय चौधरीले रातो कार्ड पाएका थिए । खेलको छैटौं मिनेटमा नै मोजिबोर जोनीले गोल गर्दै बंगलादेशलाई सुरवाती अग्रता दिलाएका थिए ।

मोहम्मद पियासले गोल गर्दै खेलको १०औँ मिनेटमा बंगलादेशलाई २–० गोलको अग्रता दिलाए । खेलको २६ औँ मिनेटमा अजय चौधरीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । खेलको ३५औँ मिनेटमा नेपालका कप्तान आयुष घलानले पनि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपाल नौँ खेलाडीमा झरेको थियो ।

आयुषले बंगलादेशका खेलाडीलाई माझी औँला देखाएपछि रेफ्रिले उनलाई रातो कार्ड दिएका थिए । यता, बंगलादेशका अजिजुल हक अनन्तो पनि दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनलाई रेफ्रिले आयुषसँग विवाद गरेको भन्दै पहेलो कार्ड दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*