सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी
नाबालिग जबर्जस्ती करणी अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा सन्दीपविरुद्ध थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरी वृत्त गौशालाले जिल्ला अदालत काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो । सोही निवेदनपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अब सन्दीप स्वदेश फर्किएलगत्तै विमानस्थलबाटै पक्राउ पर्नेछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताए । ‘थप अनुसन्धान गर्नुपर्ने भएको हुँदा हामीले सन्दीपविरुद्ध पक्राउ अनुमति मागेका थियौँ । अदालतले पक्राउ पुर्जी जारी गरेको छ,’ उनले भने । १७ वर्षीया बालिकाले बलात्कृत भएको भन्दै सन्दीपविरुद्ध सोमबार प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
त्यसलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यसक्रममा प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमका तन्ना, सिरक, घटना हुँदाका बखत बेडरुममा प्रयोग भएको डस्टबिन, घटना हुँदा पीडितले लगाएको कपडा, पीडितको भेजाइना परीक्षण, सिडिआर ९कल डिटेल रिपोर्ट०, सामाजिक सञ्जाललगायतका सामग्री संकलन गरिसकेको छ ।
अनुसन्धान गर्न प्रहरीले ‘म्यानुअल’भन्दा पनि ‘टेक्निकल’ विशेषज्ञ टोलीलाई घटनास्थलमा परिचालन गरेको छ । सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एन्ड टोबागो ९वेस्टइन्डिज०मा छन् । उनले वेस्टइन्डिजबाटै नेपाली क्रिकेट संघ ९क्यान०सँग कानुनी उपचारमा सहयोग गर्न आग्रह गरेका छन् । साथमा, उनले आफू निर्दोष भएकोे र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।






