विप्लवको अन्तर्राष्ट्रिय ‘कनेक्सन’ खोज्दैछ प्रहरी !

विप्लव नेकपाका महासचिव हुन् । उनी कहाँ बस्छन् सुरक्षा निकायले चाल पाएको छैन । विप्लव मोवाइल बोक्दैनन् । उनले स्याटलाइट सेट प्रयोग गरेको हुन सक्ने प्रहरी आकलन छ । जसको रेकर्ड सुरक्षा निकायले राख्न सक्दैन । विप्लव समूहकै एक नेताका अनुसार उनी झण्डै १५० बढी तालिमप्राप्त कार्यकर्ताको सुरक्षामा बस्छन् । उनका लागि पत्रिका उपलब्ध गराउने, खाना पकाउने, किताब पु¥याउनेसम्मको छुट्टै टोली छ । यहाँसम्मकि कमाण्ड इञ्जार्ज र केही सीमित व्यक्तिबाहेक अरुले विप्लवसँग भेट नै गर्न पाउँदैनन् ।
सुरक्षा संयन्त्रले विप्लव कहिले भारत र कहिले नेपालमै हुने गरेको सूचना प्राप्त गरेको जानकारी दियो । केही समयअघि विप्लव सिन्धुलीमा रहेको चर्चा सुरक्षा संयन्त्रभित्र चलेको थियो । विप्लवको खोजीका लागि नेपाल प्रहरीको टोली सक्रिय छ । तर विप्लव खोज्ने अभियानले सफलता प्राप्त गर्न सकेको छैन । यसबीचमा विप्लव समूहको अन्तर्राष्ट्रिय ‘कनेक्सन’ पनि प्रहरी लगायत सुरक्षा संयन्त्रले खोजिरहेको स्रोत बताउँछ ।
एक प्रहरी अधिकारी भन्छन्,‘‘उनको पार्टीको पछाडि कसको हात छ । उनलाई कसले बाहिरबाट सहयोग गरिरहेका छन् वा गर्न खोजिरहेका छन् । यी सबै कुरामा हाम्रो नजर छ ।’’ अन्तर्राष्ट्रिय तत्व वा शक्तिको सहयोग भएको भए त्यो अवस्था डरलाग्दो हुने सम्भावना रहने सुरक्षा अधिकारी बताउँछन् । खासगरी द्वन्द्व चर्काउने विभिन्न मुलुकका विद्रोही शक्तिलाई अदृश्य रुपमा बाह्य सहयोग हुँदै आएको छ । त्यो सहयोग भने आर्थिकदेखि हतियारसम्म हुन्छ ।
प्रहरीका एक उच्च अधिकारी भन्छन् ‘‘विप्लव समूह यतिबेला रक्षात्मक अवस्थामा छ । उनीहरुका एजेण्डाप्रति जनताको आकर्षण छैन । उनीहरु अहिले ठाउँ–ठाउँमा वम राख्ने र जनमानसमा त्रास कायम भइरहोस् भन्ने चाहन्छन् । ’’
बाह्राखरीबाट