करण र आरिफको उत्कृष्ट प्रदर्शन, अन्य खेलाडी नचल्दा नेपाल ओमानसँग १३ रनले पराजित

जनपत्र
२७ जेष्ठ २०७९, शुक्रबार ०६:५३

तीव्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ।

बिहीबार राति सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो। जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १९।४ ओभरमा १ सय ९८ रनमा अलआउट भयो।

नेपालका आरिफ शेखले सर्वाधिक ६६ रनको इनिङ्स खेले। उनले ७९ बलमा ६ चौका प्रहार गरे। आरिफको यो ओडीआई करिअरको दोस्रो अर्धशतक हो।यता, देव खनालले ५३ बलमा ५ चौकासहित ३४ रन बनाए।

रोहित पौडेलले १७ बलमा ३ चौकासहित २० रन बनाए। यस्तै, दिपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४ र सोमपाल कामीले १३ रन जोडे।ओमानका कप्तान जिशान मकसुदले शतकसँगै बलिङमा १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए। खवर अली, अयान खान र बिलाल खानले २र२ विकेट लिए।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो। ओमानका कप्तान जिशान मकसुदले शतकीय इनिङ्स खेले। उनले १२६ बलमा १२ चौकासहित १०४ रन बनाए।

खवर अलिले ६२ बलमा ३ चौकासहित ३० रन जोड्दा शोएब खानले २७ रन बनाए। उनले ४९ बलमा ४ चौका प्रहार गरे।यता, सुरज कुमार १२ रनमा आउट भए। नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए। उनी सोमपाल कामी र सन्दीप लामिछानेपछि ओडीआईको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी बने।

सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामीले १ विकेट लिए। नेपालले शनिबार अमेरिकासँग खेल्नेछ। यस हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ। ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*