बागमती प्रदेशका हिमाली जिल्लामा चौंरी पालनबाट मनग्य आमदानी लिदै किसान
हेटौंडा । सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नम्बर–१ दोलाङसाका पाल्वेन शेर्पाले चौरीपालन व्यावसाय सुरु गरेको १३ वर्ष भयो । यस क्षेत्रमा अरु काम गरेर भन्दा पनि चौरी पालन गरेर राम्रो आमदानी हुने भएपछी उहाँको सिङ्गो परिवारनै यस व्यावसायमा लागिपरेको छ । उहाँले हिमाली चौरी पालन व्यावसाय संस्था खोलेरनै काम गर्नु भएको छ ।
शेर्पाले विगतका वर्षहरुमा थोरै चौरी पालन गर्नु भएको भएपनि यस वर्ष भने एक सय वटा चौरी पालन गरेको बताउनुहुन्छ । चौरी पालनबाट आमदानी पनि राम्रै हुने गरेको बताउँदै उहाँ भन्नुभहुन्छ–‘वर्षभरीमा अरु काम गरेको भए खान लागउन पनि समस्या हुन्थ्यो तर, यो हिमाली क्षेत्रमा चौरी पालनले राम्रो आमदानी हुने भएपछी यस पेसामा लागे र वर्षभरीमा सबै खर्च कटाएर सात लाख रुपैयाँ सम्म आमदानी लिएको छु ।’ आफ्ना परिवारसंगै उहाँले दश जनालाई चौरी पालनमा रोजगारी पनि दिनु भएको छ ।
चौरीको दुधबाट घिउ र छुर्पी उत्पादन गर्ने गरेको शेर्पा बताउनुहुन्छ । चौरीको दुधबाट उत्पादन भएको छुर्पि काठमाण्डौं, पोखरा लगायतका शहरमा बिक्रीका लागि पठाउने गरेको उहाँ बताउनुहुन्छ । सिन्धुपाल्चोक जिल्लाकै बाह्रबिसे नगरपालिका वडा नम्बर–२ का लाक्पाछिरी शेर्पा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गन्सा ५ का सानुकान्छा तामाङ र सिन्धुपाल्चोकको भोटेकोषी–४ का टासी शेर्पाले व्यावसायीक रुपमा चौरी पालन गर्दै आउनु भएको छ । चौरी पालनबाट राम्रो आमदानी पनि लिने गरेको उहाँहरु बताउनुहुन्छ ।
अरु जिल्लाका किसान खेतीपाती गर्ने, बाख्रा पालन, गाई पालन गर्ने गर्छन । तर, यहाँका किसान भने चौंरी पालनबाट मनग्य आमदानी गर्दै आएका छन् । उनीहरुको सबै घरखर्च, छोराछोरी पढाउनका लागि चौंरी पालनबाट हुने गरेको छ ।

धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकामा पनि चौरी पालन हुँदे आएको छ । यहाँका करिब दुइदर्जन परिवारले चौरी पालन गर्दै आएको छन् । सबै किसानको गरेर करिब ३ सय वटा चौरी पालन भएको भेटनरी अस्पताल तथा पसुसेवा बिज्ञ केन्द्र धादिङका प्रमुख डाक्टर सन्दीप सिल्वाल बताउनुहुन्छ ।
यहाँको हिमाली क्षेत्रमा बषौंदेखि चौरी पालनको काम गर्दै आएका किसानहरुका लागि चौरी प्रवर्दन कार्यक्रमबाट सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ । गोठालाहरुका लागि न्यानो कपडा, सोलार लाइटहरु सहयोग लगायतका कार्यक्रम त्यस स्थान सम्म लगिएको सिल्वाल बताउनुहुन्छ ।
दोलखा जिल्लाका केही स्थानीय तहमा पनि चौरी पालनको काम हुँदै आएको छ । यहाँका हिमाली क्षेत्रमा अरु व्यावसाय खासै नहुने भएपछी किसानहरु चौरी पालनमा आकर्सित भएका छन् । दोलखाको कालिन्चोक, भिमेश्वर नगरपालिका, बीगु गाउँपालिकामा चौरी पालन हुँदै आएको भेटनरी अस्पताल तथा पसुसेवा बिज्ञ केन्द्र दोलखाका प्रमुख डाक्टर निशान्त शर्मा गेलाल बताउनुहुन्छ ।

बीगु गाउँपालिकाको अधिकांश किसानको आमदानीको श्रोत भनेको चौरी पालननै हो । चिनको सिमानामा पर्ने पनि भएकाले यहाँका किसानले चौरी पालन गरेर उत्पादन भएको घिउ र छुर्पि चिनीया नाकाबाट आएका व्यापारी मार्फत चिनमा बिक्री गर्दै आएका छन् । चौरी पालनमा केही सहयोग गरेपनि अरु हरेक हिसाबले सम्पर्क कम हुने उहाँ बताउनुहुन्छ ।
यसैगरी कालिन्चोकमा १२ जना किसानले चौरी पालनको काम गर्दै आएका छन् । यहाँका एक जना किसानले १८ देखि २० वटा सम्म चौरी पालन गरेका छन् । यस्तै, जिरी नगरपालिकामा पनि चौरी पालनको काम भइरहेको छ ।
चौंरी पालन गरेर घिउ र छुर्पि उत्पादन गरेर काठमाण्डौं लगायतका शहरमा बिक्री गरिदै आएको गेलाल बताउनुहुन्छ । यहाँ उत्पादन भएको छुर्पि काठमाण्डौ र बाहीरी देशमा समेत बिक्री गरिदै आएको छ । यहाँको भेटनरी अस्पताल तथा पसुसेवा बिज्ञ केन्द्र दोलखाले चौरी प्रर्बदन कार्यक्रम सञ्चालन गरिएको छ । कार्यालयले याक खरिद गर्ने, पानी भण्डारणका लागि सहयोग गर्ने, गोठालाहरुका लागि न्यानो कपडा लगाउनका लागि सहयोग गर्ने लगायतका कार्यक्रम गरिएको उहाँ बताउनुहुन्छ ।
यस्तै, रसुवा जिल्लामा पनि चौरी पालनको काम वषौं देखि हुँदे आएको छ । यहाँको गोसाइकुण्ड गाउँपालिका र आमाछोरीङ्गो गाउँपालिकामा चौरी पालनको काम गरिदै आएको छ । यहाँका किसानले करिब ५ सय जती चौरी पालन गरिदै आएको भेटनरी अस्पताल तथा पसुसेवा बिज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डे बताउनुहुन्छ ।

एक जना किसानले २० वटा सम्म चौरी पालन गरेका छन् । यहाँका किसानलाई चौरी पालनका लागि पसुसेवा बिज्ञ केन्द्र नुवाकोटले याक वितरण कार्यक्रम गर्दै आएको छ । चौरी प्रवर्दन कार्यक्रम अन्तरगत पानीटंकी वितरण, दुध प्रशोधन कार्यक्रम, छुर्पि सुकाउने मेसिन सहयोग लगायतका कार्यक्रम गरिएको पाण्डेले जानकारी दिनुभयो ।
चौरी पालक किसानलाई पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको यस्तो छ सहयोग बागमती प्रदेशका हिमाली जिल्लाका किसानलाई चौरी पालनमा सहयोग पुगोस भन्ने उदेस्यले बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले सहयोग कार्यक्रम ल्याएको छ ।
चौरी प्रजनन् तथा श्रोत केन्द्र स्थापनाका लागि सहयोगी कार्यक्रम ल्याएको छ । यस कार्यक्रमबाट सिन्धुपाल्चोक जिल्लाका चार परिवार किसान लाभान्वीत हुने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर मुगल प्रसाद साहले जानकारी दिनुभयो । निर्देशनालयले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे, पाँचपोखरी थाङपाल गन्सा र भोटेकोसी गाउँपालिकाका चार वटा फार्मलाई कुल एक करोड २५ लाख रुपैयाँ सहयोग गर्नेगरी संझौता गरेको छ ।
साझेदारीमा चौरी प्रजनन् तथा श्रोत केन्द्र बिकास कार्यक्रम अन्तरगत सहयोग गर्न लागिएको साहले बताउनुभयो । यस कार्यक्रमबाट बाह्रबिसे–१ म रहेको हिमाली चौरी पालन व्यावसाय, बाह्रबिसे–२ मा रहेको हिमाली चौरी फार्म, पाँचपोखरी थाङपाल गन्सा–५ मा रहेको बोम्जन गोठ तथा कागती चौरी फार्म र भोटेकोसी–४ मा रहेको नारायण पशुपालन तथा कृषि फार्म प्रालिलाई सहयोग गर्नेगरी संझौता गरिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका पशु चिकीत्सक डाक्टर बबलु ठाकुरले जानकारी दिनुभयो ।
निर्देशनालयले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत साझेदारीमा चौरी प्रजनन् तथा श्रोत विकास केन्द्रका लागि यो कार्यक्रम ल्याएको ठाकुरले बताउनुभयो । यसका लागि ११ वटा प्रस्ताब परेका थिए । त्यस मध्यमा ४ वटा मात्र छनोट भएर कार्यान्वयनको चरणमा गएको उहाँले बताउनुभयो ।






