२०औं आहा रारा गोल्डकपः मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा
विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपीएफ फुटबल क्लब १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनल पुग्न सफल भएको छ । २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत १० खेलाडीमा समेटिएको लिग लिडर मछिन्द्र फुटबल क्लबलाई पहिलो सेमिफाइनलमा ३–१ स्तब्ध पार्दै एपीएफ उपाधि नजिक पुगेको हो । यसअघि एपीएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो । छैटौं संस्करणको फाइनलमा एपिएफ पुलिससँग २–० ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।
पोखरा रंगशालामा बुधबारको खेलमा एपीएफको जितमा सनिष श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले गोल गरे । मछिन्द्रका ओमोलाजा नुरेन करिमले गोल गरे पनि टोली सेमिफाइनलबाट अघि बढ्न सकेन । एपीएफसँगको हारसँगै मछिन्द्रले यो सिजनमा पहिलो हार बेहोरेको छ । यसअघि मछिन्द्र ‘ए’ डिभिजन लिगको ९ खेलसम्म अपराजित रहेको थियो । जसमा ७ जित र दुई बराबरीको नतिजा छ । यता, यो सिजन लिगको सुरुवाती समयमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको एपीएफले विदेशी खेलाडी अनुबन्ध गरेपछि लगातार लय समात्दै मछिन्द्रलाई स्तब्ध पार्न सफल भयो ।
राष्ट्रिय टोलीमा रहेका आफ्ना मुख्य खेलाडीहरू विमल घर्तीमगर, सुनिल बल, मनीष डाँगी, विशाल राई, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ र देवेन्द्र तामाङबिनै मैदान उत्रिएको मछिन्द्रविरुद्ध एपीएफले खेलको सुरुवातदेखि नै दबाब बढाएको थियो ।
पोखरा रंगशालामा तनावपूर्ण बनेको खेलको छैटौं मिनेटमा बिकी तामाङको क्रसमा अर्मान्ड विडोमले पेनाल्टी बक्समा टर्न गर्दै गरेको सशक्त प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १४औं मिनेटमा मेसुके ओलुमोउको प्रहारलाई एपीएफका गोलरक्षक युया कुरियामाले सहजै नियन्त्रणमा लिए । १९औं मिनेटमा अर्मान्डको क्रसमा कप्तान नवीन लामालाई लागेको बलमा प्रदीप लामाले गरेको प्रहारलाई गोलरक्षक सूर्य अधिकारीले मुस्किलले नियन्त्रणमा लिए । २५औं मिनेटमा सनिस श्रेष्ठले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए ।
छिरिङ गुरुङले मणि लामालाई फउल गरेपछि मणि लामाले झन्डै ३० यार्ड टाढाको फ्रिकिकमा सनिसले उत्कृष्ट जम्प गर्दै हेडमार्फन सुन्दर गोल गर्न सफल भएका थिए । २८औं मिनेटमा ओमोलाजा नुरेन करिमको फ्रिकिकलाई युया कुरियामाले पन्च गर्दै बचाउँदा मछिन्द्र बराबरीबाट चुक्यो । ४०औं मिनेटमा ओमोलाजा नुरेन करिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सविन थापाले मेसुके ओलुमोउलाई फउल गरेपछि झन्डै ३० यार्डबाटै कप्तान रेजिन धिमालको फ्रिकिकलाई अनमार्क रहेका करिमले हेडमार्फत सुन्दर गोल गर्न सफल हुदा गोलरक्षक कुरियामाले कुनै प्रतिक्रिया जनाउन सकेन ।
६८औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । कप्तान नवीन लामाको क्रसमा गोलक्षक र डिफेन्डरबीच तालमेल मिल्न नसक्दा गोलरक्षक सूर्य अघि बढेको अवस्थामा प्रदीपले गोल गर्न सफल भएका थिए । ७१औं मिनेटमा मछिन्द्र १० खेलाडीमा समेटिन पुग्यो । गोलकर्ता ओमोलाजा नुरेन करिनले रेफ्रीसँग विवाद गर्न थालेपछि रेफ्री नविन्द्र महर्जनले दोहोरो पहेलो कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि मछिन्द्र समस्यामा परेको थियो । ८८औं मिनेटमा अभिषेक गुरुङको प्रहारलाई राजन गुरुङले क्लियर गर्दै मछिन्द्रको बराबरी टारे ।
९०औं मिनेटमा प्रदीप लामाको क्रसमा वान भर्सेस वानको अवस्थामा अर्मान्डको हेड पोस्ट नजिकैबाट बाहिरिँदा एपीएफले थप अग्रता बढाउन सकेन । इन्ज्युरी समयको थप गरिएको पाँचांै मिनेटमा कप्तान नवीन लामाले गोल गर्दै एपीएफको जित पक्का गरे । आवास लामिछानेको प्रहारलाई गोलरक्षक सूर्य अधिकारीले नियन्त्रणमा लिन नसकेको बललाई नविनले खाली पोस्टमा जाली चुमाएका थिए ।
पहिलो हाफको अन्त्यमा दुवै पक्षका खेलाडीबीच विवाद हुँदा रेफ्री नवीन्द्र महर्जनले खेलाडी र म्यानेजरलाई समेत पहेंलो कार्ड देखाएका थिए । एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित हुँदै नगद ८ हजार पुरस्कार प्राप्त गरे । मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । यस्तै, एपीएफका प्रशिक्षक कुमार थापाले मछिन्द्रजस्तो टिमलाई हराउनु टिमको मिहेनतको फल रहेको बताए । एपीएफले पहिलो खेलमा आयोजक सहारा क्लब र क्वाटरफाइनलमा अमेरिकाको बीवाईएससी क्लब मिनेसोनाटालाई हराएको थियो । अब एपीएफले उपाधिका लागि शनिबार मनाङ र आर्मीबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बिहीबार आर्मी र मनाङबीच प्रतिस्पर्धा हुनेछ । मनाङले नेपाल पुलिसलाई तथा आर्मीले थ्री स्टारलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
यसैबीच, आयोजक सहारा क्लब पोखराले सेमिफाइनल र फाइनल खेलमा दर्शकलाई टिकट आधारमा प्रवेश दिएपछि अन्य दिनको तुलनामा प्याराफिटमा दर्शको उपस्थिति देखिएको थियो । कोरोना महामारीका कारण ६ माघदेखि सुरु खेलमा ११ गतेसम्म आयोजकले दर्शकका लागि टिकट व्यवस्था गरेको थिएन । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रंगशालामा एकतिहाइ दर्शक छिराउने गरी प्रतिदर्शक ३ सय टिकट व्यवस्था गरिएको छ । राजधानीडेलीबाट






