अमेरिकामा नेपाली समूदायबीच भलिबल हुने
फागु पूर्णिमाको अवसरमा अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायकाबीच इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । फार वेस्टर्न नेप्लिज सोसाइटी टेक्ससले शनिबार आइतबार दुई दिन इन्टर स्टेट भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताका लागि १८ टोलीको सहभागिता निश्चित भइसकेको आयोजक टोलीका कप्तान समेत रहेका राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान कैलाश भट्टले जानकारी दिएका छन् ।
प्रतियोगितामा फार मिड वेस्टर्न नेप्लिज सुपर भलिबल टिम ए डालास, टिम बी, मेरिल्यान्ड नेप्जिल भलिबल क्लब ए, बी, कलफुल कोलोराडो नेपाल भलिबल टिम, नेपस्टार डिएफडब्यू भलिबल टिम डालास, युनाइटेड ब्रदर्श भलिबल टिम, टिम गोर्खाज भलिब टिम, युनाइटेड वेस्ट रुकुम भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सिन्धु समाज न्यू वर्क भलिबल टिम, नेपाली भाषा घर न्यू योर्क, न्यू योर्क सिटी भलिबल टिम, लस एन्जल्स भलिबल टिम, सान फ्रान्सिस्को भलिब टिम, टिम हस्टन भलिब टिम, कोलम्बस भलिबल टिम ए, बी र बिवाईएससीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा भाग लिने टोलीले ५ सय १ अमेरिकी डलर दर्ता शुल्क बुझाउनु पर्नेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ हजार, दोस्रो टोलीले २ हजार तेस्रो हुने टोलीले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । आयोजक क्लबका अध्यक्ष भैरव शाही र प्रतियोगिताको संयोजक गोविन्द शाही रहेका छन् ।






