हेटौंडा गोल्डकप उपाधी आयोजक एफसी विजय युथ क्लबलाई
हेटौंडा । हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा आज सम्पन्न ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधी आयोजक टिम एफसी विजय युथ क्लबले हात पारेको छ ।
आज भएको फाईनल फेलमा सेन्ट्रल कलेज विएसी,भरतपुरलाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक टिम विजय युथ क्लबले उपाधी हात पारेको हो ।
खेलको ५७ औं मिनटमा भरतपुरका रञ्जित आलेमगरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ६० औं मिनटमा विजय युथका शन्त गुरुङले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । यसैगरि खेलमा ६६ औं मिनेटमा विजय युथले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै विजय युथका रुपक केसीले टिमलाई निर्णायक गोल गरेका थिए । खेलमा विजयी युथका शन्त गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
उपाधी हात पारेको विजय युथले नगद ३ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो भने उपविजेता भरतपुरले १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजयी युथका रुपेश केसी घोषित भएका थिए । यसैगरि प्रतियोगितामा विजय युथका उत्कृष्ट गोलरक्षक अशोक बराल,डिफेन्डर सुरज विष्ट,मिडफिल्डर विश्व अधिकारी,फरवार्ड बिमल राना घोषित भएका थिए । यसैगरि प्रतियोगितामा सर्वाधिक गोलकर्ता भने सेन्ट्रल कलेज विएसी,भरतपुरका जोनोस ग्वोरी भएका थिए । उनले प्रतियोगिता भर ५ गोल गरेका थिए । खबरब्रेकबाट ।






