आईपीएल : चेन्नईसँग हार्यो हैदराबाद
यूएईमा जारी आईपीएलको २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित निकालेको छ। मंगलबार राति जितको लागि १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमात्र बनायो।
हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन आवश्यक थियो। ड्वेन ब्राभोले अन्तिम ओभरमा १ विकेटका साथ १ रनमात्र दिँदै महत्वपूर्ण दुई अंक पक्का गराए। हैदराबादका मध्यक्रमका ब्याट्सम्यान केन विलियम्सनले ३९ बलमा ७ चौकासहित सर्वाधिक ५७ रन जोडे पनि जितको लागि पर्याप्त रहेन।
राशिद खान ८ बलमा १ चौका र १ छक्कासहित १४ रनमा क्याच आउट भएसँगै हैदराबादको झिनो आशा पनि सकिएको थियो।त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। चेन्नईले अन्तिम पाँच ओभरमा ५१ रन जोड्दा ४ विकेट गुमाएको थियो।
आठौं खेलमा यो चेन्नईको तेस्रो जित हो। उसले अब आफ्नो नवौं खेल दिल्लीसँग शनिबार खेल्ने छ । हैदराबादले भने आफ्नो नवौं खेलमा अब आइतबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । अंक तालिकामा अहिले मुम्बई, दिल्ली र बैंगलोरको समान १० अंक छ। तर, समान ७ खेलमा नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा छन्। कोलकाता चौथो स्थानमा पुगेको छ। हैदराबाद पाँचौ स्थानमा, चेन्नई छैटौं स्थानमा, राजस्थान सातौं स्थानमा, पन्जाब पुछारमा छ ।






