मकवानपुरको वनकरिया वस्तीकी पहिलो जेटिए सन्तोषीको दुखद भोगाई (भिडियो सहित)
हेटौंडा/वनकरिया जाति मकवानपुर जिल्लामा मात्र बसोबास गर्ने जाति हो । वनकरियाहरु मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ ट्वाङ्ग्रा खोला नजिकै सानो बस्तीमा दशकौ अघिदेखि घर बनाएर बस्न थालेका हुन । त्यो वस्तीलाई वनकरिया वस्ती भनेर चिनिन्छ । गाउँमा बस्नुअघि उनीहरू चुरे जंगलमा बस्दथे भने हाल २१ घरधुरीमा ८३ जनाको संख्यामा वनकरियाहरु रहेको छ ।
केही दशक अघिसम्म चुरे जंगलमै बसेर जंगलमा कन्दमुल खोजेर, माछा मारेर र बन्यजन्तुको शिकार गरेर जीविका चलाउने वनकरियाहरुको जीवनशैली फेरिएको छ । विस्तारै वनबाट वस्तीमा घर बनाएर बस्न थालेका वनकरियाहरु बिस्तारै हरेक क्षेत्रमा अघि बढ्दै गईरहेका छन् । वनकरियाहरु शिक्षाको क्षेत्रमा पनि बिस्तारै अघि बढिरहेका छन् । अहिलेसम्म २ जना बनकरिया चेलीहरुले एस.एल.सी पास गरेकी छिन् । तिनै मध्ये एक हुन सन्तोषी वनकारिया, उनि अहिले जेटिए कोर्ष सकाएर आफ्नै पेसा व्यवसायमा लागेकी छिन् । वनमा जन्मेर वनको कन्दमुल खाएर हुर्केकी सन्तोषीको लागि शिक्षा हाँसिल गर्न र यहाँसम्म आईपुग्न बिश्वयुद्ध जित्नु जत्तिकै गाह्रो भएको थियो । उनी कयौँ दिन भोक भोकै स्कुल गएकी र पैसा नभएर झण्डै एस.एल.सी. परीक्षा दिन नपाएको दुखद दिनहरु सम्झदै भावुक हुन्छिन । उनले आफुले सिकेका अनि जानेका कुरा आफुमा मात्र सिमित नराखी जागिर नै छोडेर वनकरियालाई शिक्षित बनाउन बिना पैसा पढाउन सुरु गरेको पनि धेरै भै सकेको थियो । मैले तिनै वस्तीमा गएर सन्तोषी बनकरियासंग वनमा जन्मेर कन्दमुल खाएर हुर्केदेखि अहिलेसम्मको पिडा अनि सफलताको बारेमा गरेको कुराकानीको भिडियो तल हेर्नुहोला ।







