जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा
हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी ९जसपा०ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी सुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन ।
नेतृत्व टुंगो लगाउन विगत डेढ महिनामा पटक पटक आन्तरिक बैठक भए पनि नेताहरु आफ्नो अडानबाट टसमस नभएपछि विवाद सतहमै आउन थालेको हो । गत १० वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । पार्टी एकीकरण गरी त्यसको भोलिपल्ट निर्वाचन आयोगलाई जानकारी दिइएको थियो ।
निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि निवेदन दिएको शनिबार ४५ दिन पुग्दै छ तर पनि हालसम्म एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन । सीमा विवादलगायतका राष्ट्रिय मुद्दामा यो पार्टी मौन बस्दै आएको छ ।
शुक्रबार दुवै पार्टीका शीर्ष नेता छलफलमा बस्दै नेतृत्वको टुंगो लगाउने प्रयास गरे पनि सफल हुन सकेनन् । जसपा नेता महन्थ ठाकुर, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका शीर्ष नेताहरुले नेतृत्वको टुंगो लगाउने प्रयास जारी राखे पनि उनीहरु असफल हुँदै आएका छन् ।
एकीकृत पार्टीको कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्षमा ठाकुरलाई र संघीय परिषद्को अध्यक्षमा डा। भट्टराईलाई राख्ने भद्र सहमति भए पनि कार्यकारी अधिकारका अन्य नेताले भद्र सहमति तोड्दै भाजो हालिरहेको जसपाका एक नेताले बताए ।
‘कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्षमा ठाकुर र संघीय परिषद्को अध्यक्षमा डा। भट्टराईलाई राख्नेमा विवाद सिर्जना हुँदैछ,’ ती नेताले भने, ‘मुख्यत उपेन्द्र र राजेन्द्र आफूसँग पार्टीको बढी अधिकार राख्न खोज्दै आफ्नो मर्यादाक्रममा बढी चिन्तित देखिएका छन् ।’ उनीहरुकै कारण पार्टी एकताले मूर्तरूप लिन नसकेको हो ।’
पार्टी एकीकरण गर्दा समानताका आधारमा सबै नेताको व्यवस्थापन गरिने सहमति भएको थियो । तर, अहिले आएर समाजवादी पार्टीबाट केन्द्रीय समितिको अध्यक्षमा ठाकुर र यादवलाई राखेर जाने वैकल्पिक प्रस्तावमा समेत छलफल सुरु भएको छ । यस्तो प्रस्ताव आएपछि महतोले आफ्नो ‘पोजिसन’ बलियो बनाउन खोजेका छन् । दुई अध्यक्ष राख्ने समाजवादीको प्रस्ताव राजपाले अस्वीकार गरेको छ । यादव अध्यक्ष हुन खोज्दा अर्को समस्या थपिएको बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।






