समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने आदेश तत्काल जारी हुन्छ : प्रधानमन्त्री ओली

जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिन्छ
जनपत्र
१२ जेष्ठ २०७७, सोमबार १८:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका छन् ।

‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरूलाई सरकारले समयमै उद्धार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ’ उनले भनेका छन् ।

छिमेकी मित्रराष्ट्र भारतबाट घर फर्किनेहरूलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा महामारी फैलिएको प्रधानमन्त्री ओलीले बताए ।

‘विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदायस्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो’ उनले भनेका छन् ‘तर, छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षणविना नै अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका छन् ।

सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार भएको बताए ।

ओलीले क्वारेन्टाइनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनाहरुलाई क्वारेन्टाइनका रुपमा विकास गरिने बताए । उनले महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको बताए ।

उनले विदेशमा रहेका नागरिकप्रति संवेदनशील रहेको बताए । उनले छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभावमा महामारी तीब्र गतिमा बढेको बताए । उनले परीक्षणमा आउन उनीहरुलाई आग्रह समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*