गृहमन्त्रीका भाइ नरेशलाई थुनामा राख्न उच्च अदालतको आदेश
जिल्ला अदालत काठमाडौंले नरेशकुमार थापालाई १ असोज २०७६ मा धरौटीमा छोड्ने निर्णय उच्च अदालतले पाटनले बदर गरिदिएको छ ।
थापा विरुद्ध परेको रीटमाथि २३ माघमा सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले जिल्ला अदालतको निर्णय बदर गरेको हो । उच्च अदालतले निर्णय बदर गर्दै थापालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
गृहमन्त्री रामबहादुर थापाका साइला भाई नरेशलाई जिल्ला अदालत काठमाडौंले रु।एक लाख धरौटीमा छोडेको थियो । अन्य प्रतिवादीलाई पुर्पक्षमा राखिएकाले नरेशलाई धरौटी माग गर्ने अदालतको आदेश बेरितको देखिएको उच्च अदालतले ठहर गरेको छ । थापा विरुद्ध ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दा चलाइएको थियो ।
नेपाल निर्माण व्यवसायी महासँघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा थापाको संलग्नता रहेको आरोप लगाएको छ । अन्य आरोपित सुरेन्द्रमान सिंह बस्नेत र शैलेस प्रजातापतिसँग थापा जोडिएको आरोप छ ।






