विराज हल पुग्दा दर्शकले भने- ‘बाघ फर्कियो’
गएको असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली फिल्मको व्यापार शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता विराज भट्ट स्टारर एक्सन प्रधान फिल्म ‘साङ्लो’ ले केही हदसम्म चलायमान बनाएको छ । फिल्मले मल्टीप्लेक्समा दर्शक तान्न नसके पनि सिंगल थिएटरमा भने शुक्रवार र शनिवार लगभग हाउसफुलको व्यापार गरेको छ ।
शुक्रवार फिल्मले सिंगल स्क्रिनमा ५० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको थियो । भने, शनिवार ८० प्रतिशत आसपास रह्यो । शनिवार राजधानी र मोफसलका प्रमुख स्टेशनमा दर्शकको उच्च चाप देखिएको थियो । मल्टीप्लेक्समा भने फिल्मको अकुपेन्सी सन्तोषजनक छैन । मल्टीप्लेक्समा ‘साङ्लो’ भन्दा अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को अकुपेन्सी माथि छ ।
काठमाडौं भ्यालीका लागि ‘साङ्लो’ वितरक गोपालकाजी कायस्थले तिहारपछि हलको विहानी सोज चलेको भन्दै खुसी व्यक्त गरे । पुष्पाञ्जली र सिद्धार्थ हलका सञ्चालक समेत रहेका उनले भने( ‘तिहारपछि कुनै नेपाली नचल्दा देशभरका सिंगल थिएटरका विहानी शोज कटौती हुँदै आएका थिए । ‘साङ्लो’ रिलिज भएसँगै हलमा विहानदेखि बेलुकासम्म दर्शकको भीड लागेको छ ।’







