‘प्रेमगीत ३’ गीतः ढुंगामा लेखे प्रदीपले क्रिस्टिनाको नाम (भिडियो)
यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ । केही दिन अगाडि छायांकन पूरा भएको फिल्मको मंगलवार निर्माण टिमले ‘हात्ती ढुंगामा’ गीत सार्वजनिक गरेको हो । चलन चल्तीका गीतभन्दा पृथक शैलीमा तयार पारिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द छ । भने, गायक सागर आले र गायिका मेलिना राईको स्वर छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता प्रदीप खड्का र नव(अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् । गीतले यी दुईको प्रेम भाव बोल्छ । सयभन्दा बढी कोरस राखेर मनाङमा खिचिएको गीतको भिडियोमा प्रदीप र क्रिस्टिनालाई फरक गेटअपमा देख्न सकिन्छ । गीतको भिडियोलाई आकर्षक बनाइएको छ । अडियो भने औसत बनेको छ ।
छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माता रहेको फिल्मका निर्माता सन्तोष सेन हुन् । फिल्ममा प्रदीप र क्रिस्टिना ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि फिल्ममा अभिनय रहेको छ ।
चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन कोरियोग्राफी छ । तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको फिल्मले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । फिल्म चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
गीत हेर्नुहोस् :







